उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला

Published on

काठमाडौं । उधौली लागेसँगै लेकका गोठ उधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन् । जिल्लामा सबैभन्दा बढी भेँडा पालन हुने चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेँडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो । चुमनुब्री–३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेँडा पालन हुने गाउँ हो । यहाँबाट दैनिक जगत हुँदै लावालस्कर लागेर भेँडा गोरखा, धादिङ, लमजुङका बेँसीतिर लैजान थालिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताउनुभयो । “बुधार मात्रै ३०० जति भेँडा तल झारेका थिए । आज तीन जना गोठालाका ३४० वटा भेँडा एकैपटक लावालस्कर लाएर तल झारिरहेका छन्”, उहाँले भन्नुभयो, “गोठालाहरू कुकुरसहित टोली बनाएर हिँड्छन् । बाटोबाटो भेँडा बेच्दै गुजारा चलाउँदै वैशाख लागेपछि नबिकेका भेँडाको बथान लिएर गाउँ फर्कन्छन् ।”

पाङसिङका १५० घरधुरीमध्ये करिब ७० घरका किसानले भेँडाबाख्रा पालन गरेका वडा सदस्य गुरुङले जानकारी दिनुभयो । “भेँडाबाख्रा लेकको गोठबाट पाङसिङ गाउँमा झार्न थालेको एक महिना भयो । अहिले पाङसिङबाट तल झार्न थालिएको छ”, उहाँले भन्नुभयो, “यहाँबाट खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दुधपोखरी हुँदै लमजुङतिर झारिन्छ । कोही गोठालाले आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङसम्म झार्ने चलन छ ।” भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार चुमनुब्रीमा १६ हजार ५०० भेँडा र आठ हजार ५०० बाख्रापालन गरिन्छ । त्यस्तै छ हजार ५०० याक तथा चौरी पालन हुँदै आएको केन्द्रका प्रमुख अनन्त कोइरालाले जानकारी दिनुभयो । लेकबाट बेँसी झार्ने पनि मौलिक परम्परा छ । “लेकको गोठबाट बेँसी झार्ने बेला राम्रो बार हेरेर सुरु गरिन्छ । लेकको गोठबाट पनि एकै दिनमा बेँसी झार्दैनन् । हावापानीसँग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइपुर्‍याउँछन्”, पाङसिङका विकास गुरुङले भन्नुभयो, “गाउँमा झारिसकेपछि यहाँबाट अन्यत्र लैजान चाँही विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ ।”

अहिले धमाधम गाउँबाट जगत, तातोपानी, खोर्ला, माछाखोला, आरुघाटतिर भेँडा लैजान थालिएको उहाँले बताउनुभयो । “अहिले बेँसी झारिएका भेँडाबाख्रा आगामी जेठ दोस्रो साता उभौली लागेपछि लेकको गोठतिर पुर्‍याउन तालिन्छ”, उहाँले भन्नुभयो । “शरीरमा बाक्लो रौँ हुने भएकाले याक चाँही लेकमा छोड्छन् । पातलो रौँ हुने भएकाले चौँरी मात्र बेँसी झार्ने चलन छ”, चुमनुब्री–७ का वडाध्यक्ष टाँसी दोर्जे लामाले भन्नुभयो, “बेँसी झार्दा पनि र पछि जेठको दोस्रो सातातिर लेक लैजाँदा पनि लामाले साइत हेरेर विधि पुर्‍याएपछि लैजाने चलन छ ।”

भेँडाबाख्रा पालन गर्ने किसान बढी भएकाले चुमनुब्री–३ मा गोठालालाई प्रोत्साहन कार्यक्रम लागु गरिएको छ । “गोठालालाई प्रोत्साहन गर्न गोठमा जाने बाटो मर्मत, खानेपानीको व्यवस्था, बस्न त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गरेका छौँ”, चुमनुब्री–३ का वडाध्यक्ष रामकुमार गुरुङले भन्नुभयो, “गाउँपालिकाको ८० प्रतिशत र गोठालाको २० प्रतिशत लागत साझेदारीमा यो कार्यक्रम बर्सेनि गर्ने गर्छौँ ।” पालिकाले किसानलाई प्रोत्साहन दिन कार्यक्रम सञ्चालन गरे पनि बर्सेनि भेँडाबाख्रा पालन गर्ने किसानको सङ्ख्या घटिरहेको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...