जाडो छल्न बेँसी झरे भेडीगोठ

Published on

काठमाडौं । चिसो बढेसँगै लमजुङको हिमाली काँठमा पुगेका भेडीगोठहरू बेँसी झर्न थालेका छन् । अहिले भेडीगोठहरू गाउँ बस्ती नजिकैका खेतबारीमा राखिएका छन् । लमजुङ, मनाङ र कास्कीको सिमाना लमजुङ हिमालको काँठ दुधपोखरीस्थित थुर्जु लेकसम्म पुगेका भेडीगोठहरू घनपोखरा, घलेगाउँ, सिउरुङका मानव बस्तीमा आइपुगेका छन् । लमजुङमा भेडीगोठहरू ६ महिना लेक र ६ महिना बेँसीमा राखिन्छ । हिउँदमा बेँसी झरेका भेडीगोठले खेतबारी मोल्ने काम गरिन्छ । अहिले बस्ती नजिक सारिएका भेडीगोठहरू पुनः वैशाख, जेठदेखि लेकमा फर्काइन्छ । लमजुङका ग्रामीण भेगका बासिन्दाले गरेको भेडापालन व्यवसायिक बन्दै गइरहेको छ ।   धेरै पहिला गुरुङ समुदायमा ‘एक भाइ मधेश, एक भाइ भोट र अर्को गोठ’ भन्ने चलन थियो । कुन भाइको भागमा गोठ परेको छ गएर बसिहाल्ने उतिबेलाको चलन आजभोलि परिवर्तन भएको छ । जसका कारण आजभोली गोठमा बस्ने बुढापाका मात्रै छन् । युवाहरू गोठमा त के गाउँमा नै बस्न छोडेका छन् । र पनि घलेगाउँ, पसगाउँ, भुजुङ, घनपोखरा र पूर्वी लमजुङको इलमपोखरी, दुधपोखरी, बन्सार लगायतका ठाउँमा बुढापाकाहरूले भेडीगोठ जिवितै राखेका छन् ।

उभौली लागेपछि खर्क चराउँदै गोठहरू लेकतिर लैजाने र उँधौली लागेपछि चराउँदै बेँसी झार्ने चलन हुन्छ । आ–आफ्ना गाउँका खर्क छुट्टाछुट्टै खर्क हुन्छन् । एउटा गाउँको खर्कमा अर्को गाउँकाले गोठ लैजान नपाउने नियम बनाइएको छ । ठाउँठाउँमा खर्क चराउँदै सबै गोठ अन्तिममा भने लमजुङ हिमालको काखमा रहेको थुर्जुु लेकमा पुग्छन् । यो सबै गाउँको साझा खर्क हो । थुर्जुमा केही समय राखेपछि खर्क चराउँदै गोठ गाउँतिर झार्छन । मङ्सिरमा गोठ गाउँकै सिरानमा आइपुग्छ । त्यसपछि खेतबारी मोल्ने काम हुन्छ । यतिबेला गोठालाहरू आ–आफ्नो खेतबारी मोल्न व्यस्त छन । गाउँमा आएपछि गोठालालाई पनि काममा सजिलो हुन्छ । यहाँ परिवारका अन्य सदस्यले पनि सहयोग गर्छन् । गोठालाको लेक–बेँसी चक्र यसरी नै चलिरहन्छ ।

हिउँले अन्नपात राम्रो नआउने भएकाले यहाँका बासिन्दाले भेडापालन व्यवसाय अङ्गाल्दै आएका छन । तर यीनीहरूले आधुनिक र व्यवसायिक रूप भने कहिल्यै पाएका छैनन् । जुन गाउँको गोठ हो त्यही गाउँले मात्र मासुको प्रयोगमा ठिक्क भएको छ । अहिलेसम्म गाउँ बाहेक अन्यन्त्र बेच्न सकेका छैनन् । पसगाउँका गोठाला रामबहादुर गुरुङ भन्नुहुन्छ, “गाउँले दसैँ तिहार, ल्होसार, विवाहका लागि पहिल्यै भेडा भनिराखेका हुन्छन् । अन्यन्त्र लगेर बेच्नै पर्दैन ।” गाउँबाट काठमाडौँ, पोखरा, चितवनलगायतका सहरमा गएर बस्नेहरूले पनि यहीँबाटै भेडा लैजाने उहाँले बताउनुभयो । लमजुङका डाँडापाखाहरूमा प्रसस्त घाँसेमैदानको खर्क हुँदाहुँदै पनि गोठाला र आधुनिक प्रविधि अभावमा भएका भेडीगोठको प्रगति हुन सकेको छैन । सामूहिक र व्यक्तिगत रूपमा हुँदै आएको भेडापालनलाई प्रोत्साहन गर्न सकेमा आम्दानी बढाउन सकिने सरोकारवालाहरू बताउँछन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...