पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै चैलिङ गाउँ

Published on

काठमाडौं । गाउँ पस्नासाथ देखिने एकनासका चिटिक्क परेका घरहरू । आँगन र बाटोभरि ढकमक्क फुलेका रङ्गीन फूलहरू अनि ओठमा मुस्कान लिएर पाहुनाको सत्कार गर्न आतुर स्थानीय । यो हो धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ मा पर्ने चैलिङ गाउँ । अहिले चैलिङ गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।  चैलिङ गाउँ पृथ्वी राजमार्गदेखि दक्षिणतर्फ ८ किलोमिटर पक्की र ३ किलोमिटर कच्ची सडक दुरीको डाँडामा रहेको छ । नेवार समुदायको मात्रै बसोवास रहेको चैलिङ गाउँ अहिले ’अर्गानिक होमस्टे’ (घरवास) को रूपमा आफ्नो नयाँ परिचय बनाउन सफल भएको छ ।

चैलिङ पुग्ने पर्यटकलाई यहाँको प्राकृतिक सुन्दरताले जति लोभ्याउँछ, त्योभन्दा बढी यहाँको कला, संस्कृतिको आनन्दसँगै मौलिक खानपानले बाँधेर राख्छ । “हामी कहाँ आउने पाहुनालाई बजारको होइन, गाउँकै माटोमा फलेको अर्गानिक स्वाद चखाउँछौँ,“ स्थानीय हीरा श्रेष्ठ भन्नुहुन्छ, “लोकल कुखुरा, कोदोको सेल, कोदो र फापरको ढिँडो, गुन्द्रुक अनि स्थानीय रक्सी (ऐला) यहाँका मुख्य परिकार हुन् ।“ उहाँका अनुसार पाहुनाको रोजाइ अनुसार जुनसुकै परिकार तत्काल तयार गरिन्छ । खानाको स्वादसँगै कान र आँखालाई आनन्द दिने जिम्मा भने यहाँको प्रगतिशिल आमा समूहले लिएको छ । नेवारी परम्परा झल्कने भेषभूषामा सजिएका आमा तथा दिदीबहिनीहरूले प्रस्तुत गर्ने सांस्कृतिक झाँकी र नृत्यले आगन्तुकलाई रमाइलो माहोल प्रदान गर्छ । घरवास सञ्चालक कृष्ण श्रेष्ठ भन्नुहुन्छ, “हामी केवल बास र गाँस मात्र दिँदैनौ, यहाँको जातजातिको कला, संस्कृति र परम्पराको अनुभव पनि बाँड्छौँ ।” गाउँमा रहेका ३२ घरधुरीमध्ये १० घरलाई पूर्णरूपमा ’चैलिङ सामुदायिक घरवास’ तोकिएको छ । जसले एकै पटक ३५ देखि ४० जनालाई सहज आवास सुविधा दिन सक्छ । 

घरवासलाई व्यवस्थित र मर्यादित बनाउन स्थानीय युवा व्यवसायी तथा सामाजिक अगुवा कृष्ण श्रेष्ठको नेतृत्वमा व्यवस्थापन समिति नै गठन गरिएको छ । समितिले पाहुनाको सङ्ख्या बाँडफाँडदेखि खानाको गुणस्तर र सेवा सुविधाको नीति निर्माणमा काम गर्दै आएको छ । पर्यटकको चाप बढ्न थालेसँगै यहाँ पूर्वाधार विकासले पनि गति लिएको छ। गाउँमा तालिम, गोष्ठी र पर्यटकलाई भेला गराउन ३३ लाख रुपियाँको लागतमा दुई तले सामुदायिक भवन निर्माण गरिएको छ । जसमा एक्सन नेपाल र डिसिएले २३ लाख तथा प्रदेश सरकारले १० लाख रुपियाँ सहयोग गरेका छन् भने स्थानीयले १५ प्रतिशत श्रमदान गरेका छन्। अहिले विभिन्न सङ्घ संस्थाले आफ्ना आवासीय तालिमहरू यही भवनमा सञ्चालन गर्न थालेका छन् । 

पर्यटकीय सम्भावना देखेर गाउँपालिकाले पनि चैलिङलाई प्राथमिकतामा राखेको छ । बाटो विस्तार, सङ्केत बोर्ड स्थापना लगायतका योजना अघि सारेको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर (विवेक) थपलियाले चैलिङलाई स्थानीय उत्पादनको प्रवर्धन गर्ने र विषादीमुक्त खाद्य पदार्थको विशेष केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सहरी कोलाहलबाट टाढा, स्वच्छ हावापानी र नेवारी संस्कृतिको न्यानो काखमा रमाउन चाहनेहरूका लागि चैलिङ साँच्चिकै एउटा नयाँ र लोभलाग्दो गन्तव्य बनेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...