काठमाडौं । सिन्धुलीमा जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी र तोडफोड गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालयलले सोमबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय र कमलामाई नगरपालिका –५ को कार्यालय आगजनी र तोडफोडमा संलग्न व्यक्तिको पहिचान गरेर पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी गराउनुभयो । उहाँले उक्त कार्यमा संलग्न थप १५ जनाको पहिचान गरी जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको र पक्राउका लागि उनीहरुको खोजी भइहेको बताउनुभयो । ‘तोडफोड र आगजनीलाई अनुसन्धान गर्ने सिलसिलामा सामाजिक सञ्जालमा आएका भिडियोको फुटेज, सरकारी कार्यालयमा भएका फुटेजहरु, व्यक्तिले दिएको फुटेजलाई आधार मानी व्यक्तिको पहिचान गरिएको हो’ प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिलो चरणमा चारवटा कार्यालयको अनुसन्धान गरिरहेका छौं ।’ सो आगजनी, तोडफोड र लुटपाटमा प्रत्यक्ष संलग्न थप अन्य व्यक्तिको पहिचान गर्ने र उनीहरुलाई पनि कारबाहीका लागि कानुनी दायरमा ल्याउने काम भइरहेको उहाँले बताउनुभयो । पक्राउ गरेका व्यक्तिलाई सिन्धुली जिल्ला अदालतबाट आपराधिक उपद्रो कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका –६ धुरा बजार निवासी २० बर्षिय सुजन साह, सोही वडाको अनामनगर निवासी ३६ बर्षिय रत्नबहादुर श्रेष्ठ, कमलामाई नगरपालिका –५ निवासी ४७ बर्षिय फौद थापामगर, तीनपाटन गाउँपालिका–८ निवासी ११ निवासी २५ बर्षिय होमबहादुर लुङ्गेली, कमलामाई नगरपालिका –८ निवासी ३४ बर्षिय ओमबहादुर खत्रीलगायत रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट सिन्धुली जिल्लामा सरकारी कार्यालय, पार्टी कार्यालयहरु र व्यक्तिको घर गरी करिब १२ करोड ६९ लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरी उपरीक्षक सुवेदीले स्पष्ट पार्नुभयो । सरकारी कार्यालयबाट उजुरी आए पनि व्यक्तिहरुको तर्फबाट अहिलेसम्म कुनै जाहेरी नआएको उहाँको भनाइ छ ।
प्रहरीका अनुसार आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, कमलामाई नगरपालिका, करदाता सेवा कार्यालय, मालपोत कार्यालय, कारागार कार्यालय, कमलामाई नगरपालिका वडा नं. ४, ५, ६ को वडा कार्यालय, नेपाली काँग्रेस पार्टी कार्यालय, नेकपा (एमाले) को पार्टी कार्यालय, नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तथा विभिन्न व्यक्तिको नीजि भवनमा आगजनी र तोडफोडले क्षति भएको थियो । आन्दोलनको क्रममा १५ वटा सरकारी तथा नीजि सबारी साधनमा क्षति पुगेको छ । चार पाङ्ग्रे नौ वटा र दुई पाङ्ग्रेतर्फ मोटरसाइकल पाँचवटा तथा स्कूटर एउटा आगजनी तथा तोडफोडबाट क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका सरकारी कार्यालय अझै मर्मत हुन सकेको छैन । आन्दोलनमा सबैभन्दा बढी क्षति जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिकामा भएको छ । आगजनीले अदालत पूर्ण रुपमा जलेर मुद्दाका मिसिल, ईजलास, फाँट, कम्प्युटर, प्रिन्टर लगायत अन्य भौतिक बस्तु जलेर नष्ट भएको जिल्ला अदालतका सूचना अधिकारी डेढकुमार ढकालको भनाइ छ । गोरखापत्र

