मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै

Published on

काठमाडौं । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ । सडक स्तरोन्नतिका लागि यही मङ्सिर २४ देखि आगामी पुस १ गतेसम्म दिउँसोमा दैनिक पाँच घण्टा सवारीसाधन रोकेर काम गरिँदै छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका आयोजना प्रमुख सजना अधिकारीका अनुसार राजमार्ग रोकिएको समयमा सवारी चाप कम हुने भएकाले चितवनको घोप्टेभिर र धादिङको खतौडी तथा डाहाकीमा भित्तो काट्ने काम गर्न लागिएको हो । उहाँका अनुसार काठमाडौँतर्फबाट आउने सवारीसाधन रोकिएपछि सडकमा चाप घट्ने छ । मुग्लिनतर्फबाट जाने सवारीसाधनलाई रोक्ने योजना नभएको भए पनि नागढुङ्गा–मलेखु सडक बन्द हुने भएकाले सवारीसाधनको चाप कम हुने छ । 

यही अवसरलाई उपयोग गर्दै आंशिक सवारी साधन रोकेर भित्तो काट्ने तयारी गरिएको अधिकारीले बताउनुभयो ।तीनवटै ठाउँमा ४० मिटर हाराहारी लम्बाइ र ८० मिटर हाराहारी अग्लो पहाडको भित्तो काट्नुपर्ने हुन्छ । ती क्षेत्रमा सात मिटर चौडाइ सडक छ । यसलाई दुई मिटर विस्तार गर्ने योजना रहेको छ । आयोजनाका इन्जिनियर विजय दरैका अनुसार सडक बन्द नगरी भित्तो काट्न सक्ने अवस्था छैन। यही समयलाई उपयोग गर्न लागिएको उहाँले जानकारी दिनुभयो । सो सडकखण्डको धादिङको विशालटार क्षेत्रमा आइतबारदेखि कालोपत्र सुरु गरिएको छ । क्रमशः कामलाई तीव्रता दिन थालिएको छ । सो सडकका पुलको पहुँच सडकको काम सुरु गरिएको छ । चार पुलको पहुँच सडकको काम गर्न लागिएको हो । पुल र अन्य भागमा बेरिएर राख्ने काम थालिएको तथा ड्रेनको काम पनि सुरु गरिएको छ । सो खण्डको ३८ दशमलव ८६ किलोमिटरमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । थप पाँच किलोमिटर सडक कालोपत्रका लागि अन्तिम तयारी गरिएको छ । सोही ठाउँमा कालोपत्र गर्न थालिएको हो ।दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ ।  सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताउनुभयो । 

उहाँका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुने छभने बाँकी सडक दुई लेनको हुनेछ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । आगामी पुस १५ मा म्याद यसको सकिँदै छ । म्याद थपका लागि प्रक्रिया अघि बढेको दरैले बताउनुभयो । डिजाइन परिमार्जनलगायतका कारण केही महिना निर्माण कम्पनीले म्याद थप पाउने उहाँको भनाइ छ । शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा सो खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छन् । यो सडक विश्व बैङ्कको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । सडकमा सवारीसाधनको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...