भारततिर गएर मर्दै छन् दुर्लभ गिद्ध

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गिद्ध भारततिर गएर मर्न थालेका छन् । स्याटेलाइट जडान गरिएका दुर्लभ डङ्गर र अति सङ्कटापन्न सानो खैरो गिद्ध भारततिर गएर कतिपय मरेका छन् भने कतिपय हराउन थालेका छन् । पछिल्लो दुई वर्षमा भारततर्फ गएकामध्ये स्याटेलाइटजडित दुई गिद्ध मरेका छन् भने दुई वटाको अवस्था अज्ञात रहेको नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले जनाएको छ । सन् २०२४ मा भारतमा गएको जे–११ ट्याग लगाइएको अति सङ्कटापन्न सानो खैरो गिद्ध टाटरगन्जस्थित शारदा नदी किनारमा रहेको गाईभैँसी पाल्ने गोठमा मृत भेटिएको थियो । सोही वर्ष लखिमपुर क्षेत्रतर्फ गएको जे–२६ ट्यागजडित डङ्गर गिद्धको अवस्था हालसम्म अज्ञात छ । त्यस गिद्धको लोकेसन एक वर्षदेखि एकै ठाउँमा देखा परिरहेको सङ्घले जनाएको छ । यसै गरी जे–२० ट्याग लगाइएको सानो खैरो गिद्ध गएको नोभेम्बरमा नेपाल–भारत सीमाक्षेत्रमा मृत अवस्थामा फेला परेको थियो । गिद्धमा लगाइएको ट्याग भने काटेर लगिएको थियो । नोभेम्बर महिनाकै २७ देखि भारतमा एकै ठाउँमा लोकेसन देखा परिरहेको जे–२५ ट्यागजडित सानो खैरो गिद्धको अवस्था पनि अज्ञात रहेको छ । विगत डेढ हप्तादेखि सो गिद्धले ओहोरदोहोर गरेको छैन । 

जे–१२ र जे–१९ ट्याग लगाइएका दुई वटा सानो खैरो गिद्ध भने सन् २०२४ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै मृत अवस्थामा फेला परेको थियो । निकुञ्ज क्षेत्रमा गुँड लगाएका गिद्ध आहाराका लागि भारतमा रहेको नदीनालातिर बढी जाने गरेको बिसिएनका गिद्ध संरक्षण कार्यक्रम प्रबन्धक अङ्कितविलास जोशीले बताउनुभयो । त्यतातिर सिनो बढी पाइन्छ तर त्यता गएर गिद्ध मर्नुको ठोस कारण अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मरेका गिद्धको हालसम्म जाँच हुन सकेको छैन । जोशीले गिद्धका बारेमा अन्तरसीमा सहकार्य आवश्यक रहेको बताउनुभयो । 

बिसिएनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेकामध्ये १५ वटा डङ्गर र १२ वटा सानो खैरो गिद्धमा स्याटेलाइट जडान गरिएको छ । जसमार्फत स्याटेलाइटजडित गिद्धको नियमित अनुगमन भइरहेको छ । निकुञ्जमा करिब तीन सयको हाराहारीमा रहेकामध्ये अत्यधिक गिद्धमा स्याटेलाइट जडान भएको छैन । स्याटेलाइट जडान नभएका गिद्धको प्रविधिमार्फत अनुगमन नहुने गरेकाले भारततिर गएर यस्ता गिद्ध पनि मर्ने गरेको हुन सक्ने चराविद् हिरूलाल डङ्गौराको भनाइ छ । उहाँले गिद्धका लागि हानिकारक डाक्लोफेनेक विषादी भारतमा प्रतिबन्धित रहे पनि केटोप्रोफेन, निमुसोलाइड र एसिक्लोफेनेकको प्रयोग जारी रहेको बताउनुभयो । मान्छेमा प्रयोग गर्ने डाक्लोफेनेक र एसिक्लोफेनकसमेत पशुचौपायामा प्रयोग गरिरहेको छ । जुन गिद्धका लागि हानिकारक हो । शुक्लाफाँटाका गिद्धहरू दोधारा–चाँदी सीमाक्षेत्र, दुधुवा नेसनल पार्कको पलिया क्षेत्र, किसनपुर वाइल्ड लाइफ सेन्चुरीसम्म पुग्ने गरेका छन् । बेलैमा सम्बन्धित ठाउँमा पुगेर गिद्धको खोजी गर्न नसक्नु आफ्नै कमजोरी रहेको जोशीले बताउनुभयो । भारतमा मुम्बई नेचर हिस्ट्री (बिएनएचएस) नामक संस्थाले गिद्ध संरक्षणको काम गर्दै आएको छ । सन् १९९० को दशकअगाडि डाक्लोफेनेकका कारण दक्षिण एसियामा एकाएक गिद्ध मर्न थालेपछि त्यो विषादीको प्रयोगमा बन्देज लगाइएको थियो ।  गोरखापत्र 

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...