काठमाडौं । स्वास्थ्य सेवा गाउँ–गाउँसम्म पुर्याउने उद्देश्यले स्थापना गरिएका पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाका आधारभूत स्वास्थ्य संस्था कर्मचारी अभावका कारण बन्द भएका छन्। नगरपालिकाले साउन १ गतेदेखि करार सेवामा कार्यरत कर्मचारीको म्याद नथपेपछि १२ वटा स्वास्थ्य संस्था सञ्चालनविहीन भएका हुन्। नगरपालिकाअन्तर्गत रहेका छ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र छ वटा सामुदायिक स्वास्थ्य सेवा एकाइ बन्द भएका छन्। चालु आर्थिक वर्षमा पञ्चपुरी नगरपालिकाले १२८ जना करारका कर्मचारी हटाएको जनाएको छ, जसमा ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यकर्मी र १३ जना नगरपालिकाका अन्य कर्मचारी रहेका छन्। नगरप्रमुख लालवीर भण्डारीका अनुसार कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा ऐनअनुसार करारका कर्मचारी हटाइएको हो। नगरपालिकाको आन्तरिक आम्दानी न्यून भएकाले करार कर्मचारीलाई निरन्तरता दिन नसकिएको उहाँले बताउनुभयो। कर्मचारी कटौतीपछि शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा कार्यसम्पादनमा गम्भीर समस्या देखिएको उहाँको भनाइ छ।
हाल नगरपालिकाले आफ्नै आर्थिक क्षमताअनुसार कायम गर्न सकिने गरी नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने तयारी गरेको जनाएको छ। तर, गाउँ–गाउँमा नजिकैबाट स्वास्थ्य सेवा पाउँदै आएका नागरिकका लागि स्वास्थ्य संस्था बन्द हुनु ठूलो समस्या बनेको छ। बन्द भएका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा वडा नं. १ को हासेगाउँ, वडा नं. ३ को तोक्मा, वडा नं. ४ को बराइँचे, वडा नं. ६ को चतुरे, वडा नं. ८ को दुलालथाई र वडा नं. १० को नार्सी रहेका छन्। त्यस्तै, वडा नं. ६ को लाटीकाँडा, वडा नं. ७ को सिम्ताचौर र पैसरा, वडा नं. ८ को दहसान्ने, वडा नं. ९ को राग तथा वडा नं. १० को बच्छीस्थित सामुदायिक स्वास्थ्य सेवा एकाइ पनि बन्द भएका छन्।
वडा नं. १ का स्थानीय धर्मजित थापाका अनुसार नजिकको स्वास्थ्य संस्था बन्द भएपछि सामान्य उपचारका लागि समेत तीन घण्टा टाढा रहेको साल्कोट अस्पताल जान बाध्य हुनुपरेको छ। पञ्चपुरी मात्र होइन, कर्णाली प्रदेशका अन्य स्थानीय तहहरूले पनि करारका कर्मचारी हटाउने क्रम तीव्र बनाएका छन्। कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाबाट कर्मचारी हटाइँदा सेवा प्रवाह र कार्यसम्पादनमा प्रत्यक्ष असर देखिन थालेको छ ।

