पुस लागेसँगै बढ्दो जाडो र हुस्सुले महोत्तरीको जनजीवन कष्टकर

Published on

काठमाडौं । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य देखिएको महोत्तरीको जनजीवन पुस सुरु भएसँगै एकाएक बढेको जाडो र बाक्लो हुस्सुले प्रभावित बनेको छ। विशेषगरी जिल्लाको दक्षिणी भेगमा बिहानदेखि मध्यान्हसम्म बाक्लो हुस्सु लाग्ने र चिसो बतास चल्ने क्रम बढेपछि गरिब तथा दलित बस्तीको दैनिकी झन् कठिन बन्दै गएको छ। पुस लागेसँगै ह्वात्तै बढेको चिसोले मुसहर, डोम, हलखोर, मेस्तरजस्ता अति विपन्न समुदायका बस्ती बढी प्रभावित भएका छन्। “गत बुधबारदेखि नै मध्यान्हसम्म बाक्लो हुस्सु लागिरहेको छ, चिसो हावाले काममा निस्कनै सकिँदैन,” मटिहानी–८ का इसराफूल राइन भन्नुहुन्छ, “यसले जीवन गुजार्नै गाह्रो बनाएको छ।” दक्षिणी भेगमा पुस सुरु भएसँगै हुस्सु बढे पनि सुदूर उत्तरी क्षेत्रमा भने गत शुक्रबारदेखि मात्र यसको प्रभाव देखिन थालेको हो। बर्दिवास, गौशाला, औरही र भङ्गाहा क्षेत्रमा बिहीबारसम्म घाम लागे पनि शुक्रबारदेखि एकाएक बाक्लो हुस्सु छाएको स्थानीयवासी बताउँछन्। “एक्कासी मौसम फेरियो, त्यसयता जाडो सहनै नसकिने भयो,” गौशाला–१० का लक्ष्मीप्रसाद कुशवाहा भन्नुहुन्छ।

बढ्दो चिसोका कारण गरिब बस्तीमा दाउरा नपाउँदा सडकमा फालिएका झुत्रा लुगा, प्लास्टिक र झित्राझिक्री बालेर ‘घुर’ ताप्नु बाध्यता बनेको छ। “दाउरा छैन, कसैले सहयोग पनि गर्दैन,” भङ्गाहा–४ की हेमनी सदा मुसहरले गुनासो गर्नुभयो। चिसो र हुस्सुले सडक तथा हवाई यातायातसमेत प्रभावित हुन थालेका छन्। बिहानपख बाक्लो हुस्सुका कारण जनकपुर विमानस्थलबाट हुने धेरै उडान मध्याह्नअघि नै रोकिने गरेका छन्। सडक यातायात पनि हुस्सुका कारण बिहानै गन्तव्यतर्फ जान नसक्दा ठाउँठाउँमा रोकिनुपरेको चालकहरू बताउँछन्। जाडो बढेसँगै खेतीपाती, मजदुरी र व्यापार व्यवसाय पनि प्रभावित भएका छन्। मध्यान्हपछि पनि घाम राम्ररी नलाग्दा बजारको चहलपहल घट्दै गएको गौशाला बजारका व्यापारी अजय साह बताउनुहुन्छ। किसानहरू बिहानै खेतबारी जान नसक्दा काम प्रभावित भएको गुनासो गर्छन्। अचानक बढेको जाडोले वृद्धवृद्धा, सुत्केरी र स–साना बालबालिकाको स्याहारसम्भार झन् कठिन बनेको छ। पोषणयुक्त खाना, न्यानो लुगा र सरसफाइको अभावमा परालका झुप्रामा बसोबास गर्ने बस्ती बढी जोखिममा देखिएका छन्। यसैबीच, स्वास्थ्य संस्थाहरूले चिसोबाट जोगिन सचेतना सन्देश प्रसारण गरिरहेका छन्। न्यानो कपडा लगाउन, बिहान–बेलुका अनावश्यक बाहिर ननिस्कन, घर वरपर सरसफाइमा ध्यान दिन र धुवाँ धेरै निस्कने फोहोर आगो नबाल्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। यस्तो आगोको धुवाँले श्वासप्रश्वासका समस्या बढाउने स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साह बताउनुहुन्छ।

चिसोले जनजीवन कष्टकर बन्दै गएपछि स्थानीय सामाजिक सङ्घसंस्थाले गरिब र दलित बस्तीमा न्यानोको व्यवस्था र खानपिनमा सहयोग गर्न स्थानीय तहसँग माग गरेका छन्। बर्दिबास हेल्प फाउण्डेसनका अध्यक्ष कुमार भण्डारीका अनुसार असहाय बस्तीमा दाउरा र न्यानो सामग्रीको प्रबन्ध तत्काल आवश्यक छ। जिल्ला समन्वय समितिले पनि सबै स्थानीय तह र विपद् व्यवस्थापन समितिलाई चिसोबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ। “समयमै तयारी गरे क्षति रोक्न सकिन्छ,” जिल्ला समन्वय समिति प्रमुख सुमनकुमार लाल कर्णले बताउनुभयो।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...