सोवाङ धुरीमा आश्रय स्थल निर्माण, पर्यटकका लागि ओढारमा रात बिताउने बाध्यता हट्यो

Published on

काठमाडौं । रघुगङ्गा गाउँपालिका–७, चिमखोलामा अवस्थित पर्यटकीय गन्तव्य सोवाङ धुरीमा आश्रय स्थल निर्माण भएपछि पर्यटक र पाहुनाले ओढारमा रात बिताउनुपर्ने अवस्थाको अन्त्य भएको छ। समुन्द्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङ धुरीमा स्थानीय युवाको पहलमा २० जनासम्म अट्ने आश्रय स्थल भवन निर्माण गरिएको हो। चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटाको प्रयोग गरेर आश्रय स्थल निर्माण गर्नुभएको हो। सोवाङ धुरी घुम्न जाने पाहुना तथा पर्यटकलाई सुरक्षित र सहज बासको व्यवस्था गर्नका लागि यो संरचना निर्माण गरिएको तारा गर्बुजा पुनले जानकारी दिनुभयो। “तत्कालका लागि पर्यटकले आश्रय स्थल प्रयोग गर्न पाउने छन्, दीर्घकालीन रूपमा भने यहाँ रेस्टुरेन्ट सञ्चालन गर्ने विषयमा वडा कार्यालयसँग सहमति भएको छ,” उहाँले भन्नुभयो, “सोवाङ धुरीबाट प्याराग्लाइडिङ परीक्षण गर्ने तयारी पनि भइरहेको छ।”

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पर्ने सोवाङ धुरीबाट संसारको सातौँ अग्लो हिमाल धवलागिरि (८,१६७ मिटर) को फेददेखि चुचुरोसम्मको दृश्य अवलोकन गर्न सक्नु यहाँको मुख्य आकर्षण हो। साथै सूर्योदयसँगै गुर्जा, धवलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ। यहाँबाट बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्के लगायत म्याग्दी र पर्वतका ग्रामीण बस्ती तथा पहाडी भूगोलको सौन्दर्यसमेत अवलोकन गर्न सकिन्छ। पदमार्ग आसपासका जङ्गलमा घोरल, मृग जस्ता वन्यजन्तु तथा पाँचऔँले, सेदक चिनी जस्ता जडीबुटी पनि पाइन्छन्। चिमखोलाको मण्डली युवा क्लबले दुई वर्षअघि चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला हुँदै सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरेको थियो। सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाका बेगखोला, अन्नपूर्ण गाउँपालिकाका दोबा, भुरुङ तातोपानी, दाना हुँदै मुस्ताङको लेते पुग्न सकिन्छ। चिमखोलाबाट एक दिनमा हिँडेर वा विस्तारै दुई दिनमा सोवाङ धुरी पुग्न सकिने बताइएको छ।

नयाँ पहिचान भएको पदमार्ग र गन्तव्यको प्रचारप्रसारका लागि दृश्यावलोकन केन्द्र स्थापना गरिएको छ। पर्यटकको सुविधाका लागि सोवाङ धुरी नजिक क्याम्पिङस्थलमा पानी संकलन गर्न पाँच सय–पाँच सय लिटर क्षमताका ड्रम राखिएका छन्। हिउँ पग्लिएर र वर्षाको पानी संकलन हुने व्यवस्था मिलेपछि पर्यटक र गोठालालाई सहज भएको छ। यसअघि वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले सार्वजनिक शौचालयसमेत निर्माण गरिसकेको छ। हाल सोवाङ धुरी क्षेत्रमा होटल तथा रेस्टुरेन्ट नभएकाले आवश्यक बन्दोबस्तीका सामग्रीसहित जानुपर्ने अवस्था रहेको छ। धौलागिरि आइसफल पदमार्गलाई २०६८ सालमा टान पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर र तत्कालीन जिल्ला विकास समितिको अगुवाइमा अध्ययन गरिएको थियो। उक्त पदमार्गले म्याग्दी र मुस्ताङका उच्च पहाडी भूभाग हुँदै पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...

पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान...