ज्येष्ठ नागरिकको अधिकार कार्यान्वयनमा जोड: राष्ट्रिय मानव अधिकार आयोगको सरकारलाई आग्रह

Published on

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति गम्भीर हुँदै संविधान, ऐन तथा नीति–नियममा व्यवस्था गरिएका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। आयोगले ज्येष्ठ नागरिकका आवश्यकता पहिचान गरी उनीहरूसम्बन्धी विषयलाई नीति, योजना, कार्यक्रम तथा बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ। साथै, ज्येष्ठ नागरिकमा रहेको सीप, ज्ञान र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्ने व्यवस्था मिलाउनसमेत आयोगले आग्रह गरेको छ।

“ज्येष्ठ नागरिकको सम्मान र हकअधिकारको सुनिश्चितताका लागि आयोग तीनै तहका सरकारलाई आवश्यक निर्देशन गर्दछ,” आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले भन्नुभयो, “ज्येष्ठ नागरिकप्रति सम्मान, हेरचाह र अधिकारको प्रत्याभूतिका लागि परिवारका सदस्य र नागरिक समाजले पनि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ भन्नेमा आयोगले जोड दिएको छ।” नेपालको संविधानको धारा ४१ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को कार्यान्वयन अवस्थाबारे आयोगले गरेको अध्ययनअनुसार धेरै ज्येष्ठ नागरिक आफ्नो हकअधिकारबारे जानकार नभएको र राज्यले प्रदान गर्ने सेवासुविधाको प्रभावकारिता अनुभूति गर्न नसकेको पाइएको छ। “राज्यबाट उपलब्ध गराइएका स्वास्थ्य तथा यातायात सेवामा प्राथमिकतासहितका सुविधाबाट ज्येष्ठ नागरिक वञ्चित भएको, सेवा पहुँचयुक्त नभएको अवस्था अनुगमनका क्रममा देखिएको छ,” प्रवक्ता पोखरेलले भन्नुभयो। उहाँका अनुसार कतिपय ज्येष्ठ नागरिकले पारिवारिक विखण्डन, परिवारबाट हेला, त्याग्ने प्रवृत्ति तथा वृद्धाश्रममा राख्ने क्रम बढ्दै जानुका कारण एक्लोपनको महसुस गरिरहेका छन्। यसले उनीहरूको सम्मान, हेरचाह र मायामा कमी आई ज्येष्ठ नागरिक अधिकारको उपभोगमा अवरोध पुगेको देखिएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २९ लाख ७७ हजार ३१८ पुगेको छ। ज्येष्ठ नागरिकको वृद्धिदर ३ दशमलव ५ प्रतिशत रहेको छ, जुन समग्र जनसङ्ख्याको वृद्धिदर ० दशमलव ९२ प्रतिशतभन्दा निकै बढी हो। यसले आगामी दिनमा ज्येष्ठ नागरिकको सङ्ख्या अझ बढ्ने संकेत गर्दछ। औसत आयुमा वृद्धि, मृत्युदरमा कमी तथा स्वास्थ्यप्रति बढ्दो सचेतनाका कारण नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या क्रमशः बढ्दै गएको आयोगको निष्कर्ष छ।

समाजको महत्वपूर्ण पुँजीका रूपमा रहेका ज्येष्ठ नागरिकमा निहित ज्ञान, सीप, अनुभव र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके देश र समाज दुवै लाभान्वित हुने भन्दै आयोगले तीनै तहका सरकारले ठोस नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ। यसैबीच, आज नेपालमा पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ मनाइँदै छ। ज्येष्ठ नागरिकको सम्मान र अधिकारको सुनिश्चिततामा टेवा पुर्‍याउने उद्देश्यले विसं २०७८ देखि यो दिवस मनाउन थालिएको हो।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...