दमौलीमा १५१ समूहद्वारा सांस्कृतिक प्रदर्शन

Published on

काठमाडौं । तनहुँको सदरमुकाम दमौलीमा १३ भन्दा बढी जातजातिको साझा सांस्कृतिक उत्सव सुरु भएको छ । ‘छैटौँ तनहुँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ को अवसरमा १५१ भन्दा बढी सांस्कृतिक समूहले आ–आफ्नो मौलिक पहिचान झल्कने झाँकी र नृत्य प्रदर्शन गरेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा व्यास नगरपालिका –३ खुला मैदानमा बिहीबार सुरु भएको यस महोत्सवले दमौलीलाई जीवन्त सांस्कृतिक सङ्ग्रहालयमा रूपान्तरण गरिदिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले महोत्सवको उद्घाटन गर्नुभएको हो ।

विशाल सांस्कृतिक पदयात्रा र प्रदर्शनी महोत्सवको प्रमुख आकर्षणको रूपमा १३ भन्दा बढी जातजातिका १५१ समूहको उत्साहजनक सहभागिता रहेको थियो । जसमा दुरा, कुसुण्डा, बोटे, दरै, चेपाङ, मगर, गुरुङ, नेवार, कुमाल, तामाङ, भुजेल तथा ब्राह्मण–क्षेत्री समुदायका मौलिक भजन, चुड्का र नृत्यहरू एउटै मञ्चमा गुञ्जिएका छन् । महोत्सवका प्रवक्ता जीवन गुरुङका अनुसार सहभागी समूहमध्ये व्यास नगरपालिका –२ को ‘व्यास नगर तमु सुधार आमा समूह’ प्रथम भएको छ । सो समूहले १० हजार रुपियाँ नगद प्राप्त गरेको छ । यस्तै, व्यास नगरपालिका –१ को मगर सुधार समाज द्वितीय (७ हजार ५ सय), मगर गुठी समिति तृतीय (५ हजार) तथा छाङ्गेली नेवा खल र जनभावना नेवा मिसा पुचले सान्त्वना स्थान (२ हजार ५ सय) प्राप्त गरेका छन् । सहभागी सबै १५१ समूहलाई एक हजार रुपियाँ प्रोत्साहन रकम प्रदान गरिएको आयोजकले जनाएको छ ।

पुर्खाको विरासत र मौलिक घर महोत्सव स्थलमा केवल नाचगान मात्र नभइ पुर्खाको जीवनशैली झल्काउने माटोका घर र पुराना कृषि औजारको समेत प्रदर्शनी गरिएको छ । मगर, दरै र कुमाल समुदायका परम्परागत नमुना घरहरूले दर्शकको विशेष ध्यान तानेका छन् । सांस्कृतिक घर निर्माण समितिका संयोजक क्याप्टेन सोमबहादुर थापाका अनुसार माटो, बाँस र काठबाट बनेका यी घरभित्र दशकौँ पुराना घरेलु सामग्री, ठेकी, घ्याम्पा र औजारहरू राखिएका छन् । सांस्कृतिक सङ्ग्रहालय बनाउने लक्ष्य महोत्सव मूल समारोह समितिका संयोजक सनम तामाङले मनोरञ्जनभन्दा पनि पहिचानको रक्षा र नयाँ पुस्तामा पुर्खाको संस्कृति हस्तान्तरण गर्नु महोत्सवको उद्देश्य रहेको बताउनुभयो । 

यस्तै, सहसंयोजक सिद्धान्त गर्जा मगरले महोत्सवबाट सङ्कलित आम्दानी आदिवासी जनजातिको जिवन्त सांस्कृतिक सङ्ग्रहालय निर्माणमा खर्च गरिने जानकारी दिनुभयो । माघ ५ गतेसम्म चल्ने यस महोत्सवमा दैनिक रूपमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, हस्तकला र भेषभूषाको प्रदर्शनी रहने छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...