सस्तोमा धान बिक्री गर्न बाध्य किसान

Published on

काठमाडौं । यस वर्ष बाँकेमा एक लाख ६० हजार मेट्रिकटन अर्थात १६ लाख क्विन्टल धान उत्पादन भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले केवल २० हजार क्विन्टल मात्र धान खरिद गरेको छ । निर्धारित कोटा २० हजार क्विन्टल रहेकोमा २० हजार २९४ दशमलव २० क्विन्टल धान खरिद भइसकेकोले कम्पनीले धान खरिद गर्न बन्द गरिसकेको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यस वर्ष जिल्लामा १६ लाख क्विन्टल धान उत्पादन भएको छ । १६ लाख क्विन्टल धान उत्पादन भएको जिल्लामा २० हजार क्विन्टल मात्र धान खरिद गरेर सरकारले नै किसानलाई गम्भीर समस्यामा पारेको स्थानीय किसानहरूको गुनासो छ । 

कोटा पूरा भएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अधिकांश किसानको धान खरिद नगरेपछि बजारमा सस्तो मुल्यमा धान बिक्री गर्नु पर्ने बाध्यताका कारण लागत पनि नउठ्ने चिन्ताले सताएको बाँके जानकी ५ का किसान विजय बर्माले दुखेसो गर्नु भयो । उहाँले आफूले धान बिक्रीका लागि टोकन पाए पनि धान लिएर जाँदा कोटा पूरा भएको भनि फिर्ता पठाइएको हुँदा बजारमा सस्तोमा बिक्री गर्नुको विकल्प नरहेको बताउनु भयो । यस्तै बाँकेको जानकी ५ कै अर्का किसान सियाराम यादवले पनि सरकारले धान खरिद नगर्दा कसरी धान बिक्री गर्ने भन्ने चिन्ताले सताएको बताउनु भयो । उहाँले सरकारले तोकेको भन्दा निकै कम मूल्यमा व्यापारीले धान खरिद गरिरहेको जनाउँदै लागत नै नउठ्ने जस्तो देखिएको गुनासो गर्नु भयो । 

सोही प्रकारले डुडुवा २ का अग्रणी किसान राम अवतार मौर्यका अनुसार, सरकारले धान खरिद नगर्दा गल्ला व्यापारीले मनोमानी गर्दै समर्थन मूल्यभन्दा निकै कममा धान खरिद गरिरहेका छन् । उहाँले पहिले व्यापारीले प्रतिक्विन्टल दुई हजार पाँच सयसम्म मूल्य दिँदै आएकोमा अहिले खाद्यले खरिद रोक्दा दुई हजारमै खरिद गरिरहेको बताउनु भयो । यसैगरी जानकी ६ का किसान रामकरण पालले पनि सरकारले अलिकतिमात्रै धान खरिद गरेर खरिद गरेको नाटकजस्तो गरेको जनाउँदै धेरै किसानले बजारमा सस्तो बिक्री गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले अवस्था यस्तै रह्यो भने आगामी वर्षबाट धान खेती गर्न नै नसकिने अवस्था सृजना  हुनसक्ने बताउनु भयो । मुल्य नपाएपछि खेतीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने प्रश्न समेत किसान पालको छ । 

नेपाल सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानको समर्थन मुल्य तीन हजार ६२८ रुपियाँ ३३ पैसा तोकेको छ । तर गल्ला व्यापारीहरूले समर्थन मूल्यभन्दा डेढ हजार कममा धान खरिद गर्ने गरेका छन् । जसले गर्दा लागत मुल्य नै नउठ्ने चिन्तामा किसानहरू दुखी छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बाँकेका लागि २० हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरिएकोमा सो कोटा पूरा भइसकेको र कोटा थप नहुँदा खरिद बन्द गरिसकिएको बताउनु भयो ।  उहाँले यस वर्ष धान बिक्री गर्न ७२१ जना किसानले स्थानीय तहको सिफारिस लिएर आएकोमा कोटा पूरा भएपछि ५३६ जना किसानसँग मात्र धान खरिद गरिएको जानकारी दिनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

निर्वाचनका लागि मतदान केन्द्र निर्माण कार्य सुरु

काठमाडौं । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र बुथहरू धमाधम निर्माण गरिँदै...

निर्वाचन र सार्वजनिक बिदामा तनहुँ जिल्ला अदालत खुला रहने

काठमाडौं । निर्वाचन र सार्वजनिक बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने भएको छ...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...