खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण ८८ प्रतिशत

Published on

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवनको ८८ प्रतिशत निर्माण कार्य पूरा भएको छ । पाँच करोड ३६ लाख चार हजार ८१५ रुपियाँको लागतमा एम के जुगल जेभीले निर्माण गरिरहेको सो कार्यालय भवनको निर्माण अहिले अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत प्रदीप सुनारका अनुसार निर्माण व्यवसायीले भुक्तानी पाएसँगै कामले तीव्रता लिएको हो । “अब अधिकांश संरचनात्मक काम सकिएको छ, बाँकी विवरणात्मक काम मात्र हो,” उहाँले जनाउनुभयो ।

माघ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अगाडि बढेको जनाउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै काम सकियोस् भनेर हामीले नियमित अनुगमन र समन्वय गरिरहेका छौँ ।” गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले यो भवन प्रशासनिक आवश्यकता मात्र नभई नागरिकसँगको प्रत्यक्ष सम्बन्धको आधार पनि भएको बताउनुभयो । उहाँले भवन बनेपछि खजुराका नागरिकले आफ्नै सरकारको अनुभूति गर्ने जनाउँदै अब सेवाका लागि भौँतारिनु पर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । गाउँपालिकाका प्राविधिक भूपेश ओझाका अनुसार भवनको फिनिसिङ सम्पन्न भइसकेको छ भने विद्युत् वाइरिङ, पानीको निकास, तथा अन्य प्राविधिक संरचना अन्तिम चरणमा छन् ।

नयाँ प्रशासनिक भवन निर्माण भइरहेकाले अहिले खजुरा गाउँपालिकाले साबिकको बागेश्वरी गाविसको पुरानो भवनबाट सेवा दिँदै आएको छ । तर नयाँ प्रशासनिक भवन सञ्चालनमा आएपछि गाविसको पुरानो भवनलाई लुम्बिनी प्राविधिक शिक्षा विश्वविद्यालयलाई हस्तान्तरण गर्ने तयारी समेत भइरहेको छ । स्थानीय नागरिकका लागि भने यो भवन गर्वको विषय बनेको छ । स्थानीय राजकुमार विकका अनुसार सङ्घीयता आएको धेरै भयो, तर आज यो भवन हेर्दा मात्रै त्यसको अनुभूति भएको छ । अब सेवा लिन आफ्नै घरझैँ लाग्नेछ ।

अर्का स्थानीय रमेश थापाका अनुसार खजुराको प्रशासनिक भवन एउटा संरचना मात्र होइन—यो स्थानीय शासनको अनुहार पनि हो । यहाँबाट प्रवाह हुने सेवा, निर्णय र जवाफदेहिताले सङ्घीयताको सारलाई जीवन्त बनाउनेछ । उहाँले भन्नुभयो, “जब नागरिक आफ्नै गाउँमै आफ्नै सरकारसँग सेवा लिन्छन्, तब सङ्घीयता कागजबाट व्यवहारमा रूपान्तरण हुन्छ । खजुरामा त्यो दिन अब धेरै टाढा छैन ।”गोरखापत्र

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...