मेलाले स्थानीय उत्पादनको बजारीकरणमा टेवा

Published on

काठमाडौं । बेनीमा सञ्चालन भएको माघे सङ्क्रान्ति मेलाले म्याग्दीका स्थानीय उत्पादनको बजारीकरण र प्रवर्धनमा टेवा पुगेको छ । जिल्लाका ६ वटै स्थानीय तहबाट आएका उद्यमीहरुले मेलामा कृषिजन्य उत्पादन, जडिबुटी तथा घरेलु उद्योगका सामग्रीहरु  बिक्री तथा प्रदर्शनीका लागि स्टलमा राखेका थिए । मेला मार्फत स्थानीय उत्पादनको बिक्री, बजारीकरण र प्रवर्धनमा सहयोग पुगेको उद्यमीहरुले बताएका छन् । बाँसबाट निर्मित विभिन्न सामग्रीहरु, अल्लो कपडा, ढाका, हातेकागज, घरेलु सरसफाइ सामग्रीदेखि कृषिजन्य उत्पादनसम्मका सामग्री बिक्री तथा प्रदर्शनीमा राखिएका स्टलहरुमा सर्वसाधारणहरुको भिड देखिएको थियो ।

उद्यमीहरुले स्थानीय कच्चा पदार्थको उपयोग गरी उत्पादन गरेका सामग्रीले रोजगारी सिर्जना हुनुका साथै परम्परागत सीपको संरक्षणमा पनि योगदान पु¥याएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । निःशुल्क स्टलको व्यवस्थाले किसान, महिला उद्यमी र साना व्यवसायीलाई आफ्ना उत्पादन चिनाउन सहज भएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो । बेनी नगरपालिका ७ मंगलाघाट स्थित दोभान कृषि सहकारी संस्थाले बाँसबाट निर्मित विभिन्न आकर्षक सामग्रीहरु बिक्रीका लागि स्टलमा राखेको छ । बाँसबाट निर्मित सामग्रीहरु खरिद गर्न र अवलोकनका लागि मेलाका दर्शकहरु आउने गरेको सहकारीका अध्यक्ष अमृतदेवी बानियाँले बताउनुभयो ।

सहकारीले तालिम दिएर सामूहिक रुपमा बाँसबाट विभिन्न दैनिक उपयोगमा आउने सामग्रीहरु उत्पादन गरेको उहाँले बताउनुभयो । वन जङ्गलमा खेरगएको वनपैदावारको सदुपयोग गरेर सहकारी मार्फत विभिन्न आकर्षक सामग्रीहरु उत्पादन गरिएको उहाँले बताउनुभयो । स्टलमा बाँसबाट निर्मित एक सयदेखि २० हजार रुपियाँसम्मका विभिन्न सामग्रीहरु राखिएका छन् । बेनी नगरपालिका ८ की नरु थजालीले स्थानीय उत्पादन झोल साबुनको स्टल राख्नुभएको छ । उहाँले हातधुने, हार्पीक, फिनेल, सिसा सफा गर्ने लगायतका दैनिक रुपमा घरायसी सरसफाईमा उपयोगमा आउने सामग्री बिक्रीका लागि राख्नुभएको छ । स्टलमा आउने दर्शकहरुले सामग्री खरिद गरेर लैजाने गरेको उहाँले बताउनुभयो । ६ महिनाको तालिमा पाएपछि बेनी नगरपालिका ८ की वडा सदस्य समेत रहनुभएकी थजालीले  स्थानीय कच्चा पदार्थको प्रयोग गरेर सरसफाईका सामग्रीहरु उत्पादन गर्दै आउनुभएको छ ।

मेलामा अल्लोबाट निर्मित कपडा,ढाका,हाते कागज,कोदोको पिठो, सिमी, भटमास, टिमुर, सिस्नोको धुलो, कागती, सिन्की, रातो च्याउ, बेसार, भागो लगायत स्थानीय उत्पादनको स्टल छन् । मेलामा म्याग्दी जिल्लामा उत्पादित कृषिजन्य उत्पादन, जडिबुटी, लघु तथा घरेलु उद्योगका सामानहरु बिक्री, वितरण गर्नुका साथै प्रदर्शनीका लागि निःशुल्क स्टल उपलब्ध गराइएको महिला उद्यमी विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘किसानले उत्पादन गरेका कतिपय सामग्री र वस्तुका बारेमा सर्वसाधरणहरुलाई जानकारी समेत छैन । मेलाका अवसरमा त्यस्ता उत्पादनको प्रचारप्रसार, प्रवद्र्धन र बजारीकरणमा सहयोग पुग्ने विश्वास गरेका छौं ।’’ म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा गत पुस ३० गते देखि सुरु भएको माघे सङ्क्रान्ति मेला, खाना तथा कृषि प्रदर्शनी शनिबार समापन भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारभन्दा बढी दर्शकले मेलाको अवलोकन गरेको आयोजकको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...