कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार टुङ्गायो

Published on

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको टुङ्गो लगाएको छ । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा एमालेले उम्मेदवारको अन्तिम टुङ्गो लगाएको हो । निर्वाचन क्षेत्र नम्बर-१ का लागि नेकपा (एमाले)का केन्द्रीय सदस्य कमला बोहरा उम्मेदवार बन्नु भएको छ । विद्यालय पढ्दादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय बोहरा कक्षा ६ मा पढ्दा नै अनेरास्ववियुको स्कुल कमिटी सचिव बन्नु भएको थियो । त्यसपछि अखिलको जिल्ला कमिटी हुँदै केन्द्रीय कमिटी सदस्य हुनु भएको हो । 

निर्वाचन क्षेत्र नम्बर–२ का लागि नेकपा (एमाले)का नेता बचनबहादुर सिंह उम्मेदवार बन्नु भएको छ । सिंह राष्ट्रिय युवा सङ्घका पूर्व अध्यक्ष समेत हुन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ बाट डा. दीपकप्रकाश भट्ट उम्मेदवार बन्नु भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को पहिचान बनाएका डा. भट्ट यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट निर्वाचित भएका हुनु भएको थियो । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई २ सय ५८ मतान्तरले पराजित गर्दै निर्वाचित हुनु भएको थियो । परराष्ट्र र सुरक्षा मामिलाका जानकार डा. भट्ट विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा प्रवेश गर्नु भएको हो । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि हासिल गर्नु भएका डा. भट्ट पार्टी नीतिगत, वैचारिक तथा अन्तर्राष्ट्रिय मामिलामा लामो समयदेखि सक्रिय हुनु हुन्छ । 

विसं २०४५ सालदेखि भारत प्रवासमा रहँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमार्फत सङ्गठन निर्माणमा सक्रिय रहेका उहाँले महासचिव हुँदै २०५७ देखि २०६२ सम्म केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गर्नु भएको थियो । डा. भट्ट २०५२ सालमा एमालेको सङ्गठित सदस्य बन्नु भएको हो । २०४६ सालको जनआन्दोलनका क्रममा पिथौरागढमा नेतृत्वदायी भूमिका निर्वाह गरेका भट्टसँग राज्य सञ्चालन र नीति निर्माणको अनुभव समेत छ । 

सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यका रूपमा उहाँले परराष्ट्र नीति, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । साथै, २०७२ देखि २०७४ सम्म उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको सदस्यका रूपमा पनि उहाँले काम गर्नु भयो । २०७३ सालदेखि नेपाल सरकारद्वारा गठन गरिएको राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा समेत उहाँ कार्यरत रहनु भयो । लामो सङ्गठनात्मक अनुभव, गहिरो वैचारिक पकड, अन्तर्राष्ट्रिय दृष्टिकोण र संसदीय अभ्यासका साथै स्थानीय स्तरमा स्थापित छविका कारण डा. भट्ट आगामी निर्वाचनमा पुनः विजयी हुनेमा विश्वस्त देखिनु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...