बाँकेमा हात्तीपाइले विरुद्धको अभियान सुरु

Published on

 काठमाडौं । १५ वर्षसम्म निरन्तर हरेक वर्ष औषधी खुवाउने कार्यक्रम गर्दा पनि सफल हुन नसकेपछि बाँकेमा विहिवारदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सुरु गरिएको छ । बाँकेको नेपालगन्ज उपमहानगर, डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथको एउटा वडामा हात्तीपाइलेको औषधी खानेहरुको संख्या निकै कम भएकोले ती पालिकामा १६औं पटक सो औषधि खुवाउने अभियान सुरु गरिएको हो । १६औँ पटकको आम औषधि सेवन अभियान बिहिबारदेखि नरैनापुर गाउँपालिकाबाट औपचारिक रूपमा सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका प्रमुख सुनिता पौडेलले १६औँ पटकको आम औषधि सेवन अभियान नरैनापुर गाउँपालिकाबाट औपचारिक रूपमा सुरु गरिएको जनाउँदै डुडुवा, नेपालगन्ज र बैजनाथमा पनि क्रमशः शुरु गर्ने बताउनुभयो। 

उहाँका अनुसार यसपटकको अभियानमार्फत नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९, नेपालगन्ज उपमहानगरपालिकाका १ लाख ६९ हजार ३३९ र डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ गरी कुल ३ लाख ५७ हजार ५१३ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । अभियानको शुभारम्भ गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले स्वयं औषधि सेवन गरेर सबैलाई अनिवार्य रूपमा औषधि खान आग्रह गर्नुभयो । “अब १७औँ पटक अभियान दोहोरिन नदिन सबैले जिम्मेवारीका साथ औषधि सेवन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक तैयब राइनीले विगतमा औषधि नखानुको मुख्य कारण प्रतिअसरको डर र जनचेतनाको कमी रहेको उल्लेख गर्दै यस पटक सबैले खानुपर्नेमा जोड दिनुभयो। तथ्याङ्क अनुसार जिल्लामा ३३.२८ प्रतिशतले प्रतिअसरको डर र ३२.५३ प्रतिशतले जानकारीको अभावका कारण औषधि सेवन नगरेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोले हात्तीपाइले निवारणका लागि कम्तीमा ८० प्रतिशत लक्षित नागरिकले एकै चरणमा औषधी सेवन गर्नुपर्ने स्पष्ट पार्नुभयो । “८० प्रतिशत सहभागिता नहुँदा नै १६औँ पटकसम्म अभियान चलाउनुपरेको हो,” उहाँले भन्नुभयो । अभियान सञ्चालनका लागि ४५ लाख रुपियाँभन्दा बढी बजेट खर्च हुने जनाइएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोगसम्बन्धि फोकल पर्सन रत्नलाल शर्माका अनुसार ग्यास्ट्राइटिस, थाइराइड, रक्तचाप र मधुमेहजस्ता सामान्य समस्या भएका तर दैनिक काम गर्न सक्ने व्यक्तिले औषधी सेवन गर्न सक्छन् । तर दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, सात दिन नपुगेका सुत्केरी, सिकिस्त बिरामी तथा केही विशेष रोग भएका व्यक्तिलाई औषधी नखान आग्रह गरिएको छ । उहाँले नरैनापुरमा विहिबारदेखि सो अभियान सुरु गरिएको जनाउँदै विभिन्न कारणले डुडुवा र बैजनाथमा माघ ११ गतेबाट र नेपालगन्जमा माघ १२ गतेबाट अभियान शुरु गरिने जानकारी दिनुभयो । हात्तीपाइलेजस्तो दीर्घकालीन अपांगता निम्त्याउने रोग निवारणका लागि सबै नागरिकले औषधी सेवन गरेर अभियानलाई सफल पार्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सर्वेक्षणअनुसार बाँके ‘क’ क्षेत्रमा प्रति सय जनामध्ये औसत ६.५ जनामा हात्तीपाइलेको वयस्क परजीवी फेला परेको छ । १ प्रतिशतभन्दा बढीमा परजीवी देखिएपछि रोग सर्ने जोखिम उच्च हुने भएकाले अभियान प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...