काठमाडौं । भारतसँग ६५ किलोमिटरको खुला सीमाना गाँसिएको बाँके जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिंदैछ । जिल्लाका आठवटा पालिकाका १३९ वटा मतदानस्थलमध्ये ६१ वटा अति संवेदनशील, ५० वटा संवेदनशील तथा २८ वटालाई सामान्य मतदानस्थल तोकिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले बताउनुभयो । १३९ मतदानस्थलमा ४०० मतदान केन्द्र कायम गरिएको र केही अस्थायी मतदान केन्द्र समेत कायम गरिने तयारी भइरहेको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगु जिसीले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नका लागि कुनै कसर बाँकी नराख्ने जनाउँदै निर्वाचन लक्षित कडा सुरक्षा व्यवस्था गरिने बताउनुभयो ।
उहाँले सुरक्षामा निर्वाचन प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित हुने बताउनुभयो । मतदानको केहीदिन अघिबाटै सीमा नाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती पनि हुने र सो गस्ती निर्वाचनको अवधीसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता संख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले अस्थायी मतदाताको नामावली संकलन गर्ने कार्य अझै चलिरहेकाले सो संख्या पनि यसमा थपिने बताउनुभयो । गोरखापत्र

