काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भएको निःशुल्क आँखा जाँच तथा शिविरमा एकसय ३५ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा नेपाल नेत्रहीन संघ (समावेशी विकासका लागि कार्य) लमजुङ र नेपाल नेत्रज्योति संघअन्तर्गत भरतपुर आँखा अस्पतालको सहयोगमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिएको हो । वडागत रुपमा आयोजना गरिएको शिविरमार्फत कुल १ हजार ११५ जना आँखाका बिरामीहरूको जाँच गरिएको थियो । जसमध्ये गाउँपालिकामा आयोजना गरिएको तीन दिने शल्यक्रिया शिविरमा १३५ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको हो ।
यस्तै, ६६१ जनालाई निःशुल्क औषधी वितरण गरिएको थियो । ५६ जनालाई नजिक हेर्ने चश्मा निःशुल्क प्रदान गरिएको छ । शल्यक्रिया सम्पन्न भएका १३५ जनालाई आँखाको सुरक्षाका लागि कालो चश्मासमेत निःशुल्क वितरण गरिएको मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । ग्रामीण तथा दुर्गम क्षेत्रका आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरले दृष्टि समस्या भएका नागरिकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको नेपाल नेत्रहीन संघ (समावेशी विकासका लागि कार्य) लमजुङका पुनस्र्थापना अधिकृत प्रेम महर्जनले बताउनुभयो । शिविरमा भरतपुर आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ नेत्र विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको थियो । गोरखापत्र

