काठमाडौं । कञ्चनपुरमा बेवारिसे अवस्थामा एक युवतीको शव फेला परेको छ । भीमदत्त नरपालिका –१० तिल्केनीस्थित शान्ति सामुदायिक वनमा बेवारिसे अवस्थामा अन्ताजी २४–२५ बर्षका एक युवतिको शव फेला परेको प्रहरीले जनाएको हो । युवतीको अर्धनग्न अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । स्थानीयको खबरपछि प्रहरीको टोलीले शव फेला पारी परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
लामो समयदेखि बंग्यादोल खोला किनारामा बेवारिसे अवस्थामा फेला परेको शव सड्न लागेका कारण पहिचान गर्न नसकिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार बेवारिसे फेला परेको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
शवको पहिचान हुन नसकिएकाले मृतकका परिवारलाई सम्पर्कमा आउन समेत प्रहरीले आग्रह गरेको छ । साथै, घटनास्थलबाट बरामद गरिएका युवतिका कपडा समेत सार्वजनिक गर्दै प्रहरीले पहिचान गरी सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरीका अनुसार युवतीले लगाएको लुगा रगतले भिजेको पाइएको थियो । युवतिको शरीरमा सामान्य चोट रहेको तर हत्या गरिएको वा अन्य कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । गोरखापत्र

