खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

Published on

काठमाडौं । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ । खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ । करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल (कोल) अहिले पनि यहाँ सञ्चालनमा रहेकाले खोकनाको पहिचान जोगिएको स्थानीय बताउँछन् । ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको ऐतिहासिक ‘गाबु ज्याः सा’ तेल मिल अहिले पनि सञ्चालनमा छ । तीन सय वर्ष पुरानो काठको मिललाई स्थानीय कान्छा महर्जनले निरन्तरता दिँदै आउनुभएको छ । उहाँका अनुसार कोलबाट पेलिएको शुद्ध तोरीको तेल स्वदेशका साथै विदेशसम्म पठाउने गरिएको छ । मल्लकालमा खोकनामा चारवटा ऐतिहासिक काठका तेल मिल सञ्चालनमा थिए । समयसँगै तीमध्ये तीन बन्द भए पनि एउटा मिलले पुरानो परम्परालाई जीवित राखेको छ।

बाँकी तीनवटै ऐतिहासिक मिल पुनः सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाको पहलमा भवन निर्माण प्रक्रिया अघि बढेको छ ।शुद्ध तोरीको तेल र ऐतिहासिक कोलका कारण खोकनामा विदेशी पर्यटकसमेत अवलोकनका लागि आउने गरेका महर्जनले बताउनुभयो । खोकना प्रवेश गर्ने वित्तिकै आधुनिक प्रविधिबाट तेल उत्पादन गर्ने युवा व्यावसायिका तेल मिल र साइनबोर्डहरू देखिन्छन् ।खानोमी तेल मिलका सञ्चालक पवित्रकुमार डङ्गोलका अनुसार खोकनामा हाल १० देखि १५ वटा तेल मिल सञ्चालनमा छन् । पहिले सामुदायिक रूपमा काठको कोलबाट तेल उत्पादन गरिए पनि लागत महँगो र जनशक्ति बढी आवश्यक पर्ने भएकाले अहिले अधिकांश व्यवसायीले आधुनिक मिलको प्रयोग गर्न थालेका उहाँले बताउनुभयो ।

पहिले खोकनाका स्थानीयले आफैँं तोरी उत्पादन गर्ने गरेकामा अहिले तोरीखेती घटेको छ । डुङ्गोलका अनुसार पहिले खोकनावासी तेल र तोरी साट्न भक्तपुर, काठमाडौँ, मकवानपुर र नुवाकोटसम्म पुग्ने गर्दथे । अहिले भने नेपालमा उत्पादन हुने तोरीले बजार धान्न नसक्दा भारत, युक्रेनलगायत देशबाट आयात गरेर तेल उत्पादन गरिँदै आइएको उहाँले जानकारी दिनुभयो । ऐतिहासिक रूपमा तोरी उत्पादन र शुद्ध तोरीको तेलका लागि चिनिँदै आएको खोकना आज पनि यही पहिचानका कारण बजारमा लोकप्रिय छ । आधुनिक प्रविधि र पुरानो काठको कोल दुवैको सहअस्तित्वले खोकनाको तेल परम्परा जोगाइरहेको स्थानीयको विश्वास छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...