काठमाडौं । गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ । प्रेमभाव झल्किने शैलीको यो गीत सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ आकर्षणको केन्द्र बनेको छ । यसअघि आयुष मगरका ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै थियो’ जस्ता गीतहरूले युट्युबको मिलियन क्लबमा स्थान बनाइसकेका छन् । ती सफल गीतपछि सार्वजनिक भएको ‘कान्छी’ले पनि राम्रो चर्चा बटुल्न थालेको छ । गीतका शब्द टेकेश भण्डारीले लेख्नुभएको हो भने सङ्गीत संयोजन उदय राज पौडेलले गर्नुभएको छ । गीतमा आयुष मगरकै स्वर र सङ्गीत रहेको छ ।
गीतको म्युजिक भिडियोमा गायक आयुष मगरसँगै भगिशा मगर मुख्य भूमिकामा देखिनुभएको छ । भिडियोमा गोविन्द राई, विवेक रोका, कमल बुढाथोकी, सन्तोष बुढा मगर, सरोज बुढा मगर र विजय बुढा मगरको समेत अभिनय रहेको छ । भिडियोको नृत्य निर्देशन तथा पटकथा गोविन्द राईले सम्हाल्नुभएको छ । छायाङ्कन तथा निर्माण एनवाइसी नेपाली लाइफ स्टाइल प्रोडक्सनको ब्यानरमा गरिएको हो । भिडियोको सम्पादन र रङ संयोजन बिजेश पौडेलले गर्नुभएको छ भने पोस्ट–प्रोडक्सन लाटोकोसेरो फिल्म्सले सम्पन्न गरेको छ ।
आयुष मगरको आफ्नै युट्युब च्यानल “आयुष मगर” मार्फत सार्वजनिक गरिएको यस गीतले उहाँको साङ्गीतिक यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थप्ने विश्वास गरिएको छ ।

