महोत्तरीमा डायलासिस सुरु

Published on

काठमाडौं । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वरले बुधबारदेखि डायलासिस सेवा सुरु गरेको छ । अस्पतालले छ थान डायलासिस सेवा आजदेखि सुरु गरेको जनाएको छ ।मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जङ्गीलाल राय, मन्त्रालयका सचिव डा.प्रमोद कुमार यादव र अस्पतालका निमित्त कार्यालय प्रमुख डा.रवि श्रीवास्तवले संयुक्त रुपमा डायलासिस युनिटको उद्‌घाटन गर्नुभएको हो । जनशक्ति अभावमा विगत तिन वर्षदेखि थन्किएको डायलासिस मेसिन जनशक्ति र व्यवस्थापन भएसँगै सुरु गरिएको प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा।रवि श्रीवास्तवले जानकारी दिनुभयो । उहाँले छ थान डायलासिस मेसिनमा पाँच थान चालु अवस्थामा राखिने र एकथान इमरजेन्सीको बेला प्रयोग गरिने बताउनुहुँदै डायलासिस मेसिन सुरु भएसँगै यसक्षेत्रका बासिन्दालाई राहत पुग्ने बताउनुभयो ।

 उद्घाटनपश्चात आयोजित कार्यक्रममा बोल्नुहुँदै कार्यालय प्रमुख डा.श्रीवास्तवले आगामी दिनहरुमा आइसीयु सेवा, एनआईसीयु सेवा तथा डिजिटल सेवाहरु सुरुवात गर्ने गरी गृहकार्य गरिरहेको बताउनुहुँदै अस्पतालका कर्मचारी तथा स्थानीयलाई सहयोगको लागि धन्यवाद दिनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जङ्गीलाल रायले अस्पतालको सेवा विस्तारमा आफूले सदैव सहयोग गर्ने आश्वासन दिनुहुँदै अस्पतालको सञ्चालन समितिको अध्यक्षमा चाँडै नै स्थानीयलाई मनोनित गर्ने बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव डा।प्रमोद कुमार यादवले कर्मचारीलाई इमान्दारिताका साथ तोकिएको काम समयमै गर्न निर्देशन दिनुहुँदै बिरामीको उपचारमा विलम्ब नगर्न आग्रह गर्नुभयो ।

जलेश्‍वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले जलेश्वरका वासिन्दाहरुलाई जनकपुरदेखि काठमाडौँसम्म  डायलासिसको लागि सिफारिसका साथै आफ्नै गाडीबाट लग्ने गरेको बताउनुहुँदै यहाँ सुरुवातसँगै जलेश्वरसहित यसक्षेत्रका बासिन्दालाई राहत पुगेको बताउनुभयो । अस्पतालमा डायलासिस शुरु भएसँगै यसक्षेत्रका वासिन्दालाई आर्थिक राहतसँगै समयको समेत बचत हुने देखिएको छ । जिल्लामा एउटा पनि डायलासिस मेसिन नहुदाँ मृगौला बिरामीलाई आर्थिक बोझका साथसाथै हैरानी समेत खेप्नु परिरहेको थियो। महोत्तरीका मिर्गौला रोगीलाई डाइलासिसको लागि जनकपुरसहित बाहिर जानुपर्ने वाध्यता रहेको थियो ।जसले समयको वर्वादी तथा रकमको खर्च गरी दोहोरो मर्का हुने गरेको जलेश्‍वर नगरपालिका वडा नं. २ का विष्णु चौधरीले बताउनुभयो ।

उहाँले आफ्नी श्रीमती ४० वर्षीया निलम चौधरीको दुवै मिर्गौलाले  काम नगरेको कारण उनलाई हप्तामा दुई दिन डायलासिस गराउनुपर्ने जानकारी दिनुहुँदै जलेश्‍वर क्षेत्रमा डायलासिस नहुदाँ उनलाई हरेक हप्ताको दुई दिन जनकपुर जानुपर्ने वाध्यता रहेको सुनाउनुभयो । उहाँले आफ्नै ठाउँमा डायलासिस सुरु भएपछि समयको वचतसँगै आर्थिक बोझ समेत कम हुने बताउनुुहुदै यस कार्यको लागि अस्पतालका सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो । सुरुसुरुमा एक पटक डायलासिस गरे २५ सयदेखि तीन हजार सम्म तिर्नु परेको बताउनुहुँदै विष्णु चौधरीले स्थानीय तह तथा स्वास्थ्य कार्यालयबाट सिफारिसपत्र लिएर जाँदा निःशुल्क डायलासिस हुने गरेको जानकारी दिनुभयो । उहाँले तीन वर्षदेखि निरन्तर रुपमा पत्नी निलमलाई जलेश्वरबाट हप्ताको सोमबार र बिहीबार दुई चोटी डाइलासिसको लागि प्रादेशिक अस्पताल जनकपुर लानु परिरहेको बताउनुहुँदै गाडी भाडा, समय तथा अन्य खर्चहरुले हैरानी बनाएको बताउनुभयो । पालो लिन तोकिएको दिन बिहानै पुग्नुपर्छ अनि मात्रै पालो पाउने गरेको तथा एकपल्ट कम्तीमा पनि चार घण्टासम्म डायलासिस हुने गरेकोले समय पनि बढी लाग्ने गरेको बताउनुहुँदै अबदेखि सो झन्झट खत्तम हुने बताउनुभयो ।

मिर्गौलाले ९० प्रतिशतसम्म काम गर्ने क्षमता गुमाइसकेको अन्तिम अवस्थामा डायलासिस गर्ने गरिएको चिकित्सकहरु बताउँछन् । नेपाल सरकारले डायलासिस सेवा निःशुल्क गरेको छ । प्रादेशिक अस्पताल जलेश्‍वर महोत्तरीका डायलासिस थेरापिष्ट किसन कुमार रायले डायलायजर (कृत्रिम मिर्गौला) एउटा विशेष फिल्टर रहेको र यसमा मेसिनद्वारा बढी भएको तरल पदार्थ र फोहोर पदार्थलाई बाहिर फाल्ने र विशेष झोलको मद्दतले शुद्ध रगत बनाउने कार्य गरी पुनः सो शुद्ध रगतलाई शरीरमा पठाउने कार्य गर्ने गरिएको जानकारी दिनुभयो । डायलासिस गराउने बिरामीले नियमित रुपमा खाना, पानी, औषधी सेवन नगर्ने हो भने थप डायलासिस गराउनुपर्ने जोखिम हुने र यसले कुपोषण हुने, किड्नी फेल हुने र मृत्यु सम्म गराउने जोखिम हुने भएकोले डायलासिस गराउने रोगीले नियमित रुपमा औषधी सेवन गर्न आग्रह डायलासिस थेरापिष्ट रायले गर्नुभयो । 

उहाँले यसक्षेत्रमा पनि डायलासिस गर्ने विरामीको संख्या धेरै भएको र अहिले पाँच जना बिरामी सम्पर्कमा रहेको बताउनुहुँदै शुरु भएसँगै बिरामीको चाप बढने दाबी गर्नुभयो । मन्त्री रायलाई जलेश्वरका स्थानीय युवाहरुले अस्पताललाई रेफर हुनबाट जोगाउन तथा राजनीतिक रुपमा नभई स्थानीयबासीलाई अस्पतालको अध्यक्षमा नियुक्त गर्न आग्रह गरेका थिए । आइसीयु सेवा सञ्चालन गर्न माँगप्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीमा डायलासिस सेवा सुचारु भएसँगै आइसीयु सेवा समेत सुचारु गर्ने माँग बढेको छ । स्थानीय युवा जिरेखन पासमानले प्रादेशिक अस्पताल जलेश्वरलाई मधेश सरकारले एक सय  शैयाको अस्पतालमा स्तरोन्नती गरेपनि सोही अनुसारको जनशक्ति उपलब्ध गराउन नसक्दा समस्या भएको आफुहरुले देखेको बताउनुहुँदै आइसीयु सेवा सुचारु गर्न माँग गर्नुभयो । प्रादेशिक अस्पताल जलेश्वरमा कोराना कालमै पाँच शैयाको भेन्टिलेटरसहितको आइसीयु जडान भएपनि जनशक्ति अभावमा अहिलेसम्म सुचारु हुन सकेको छैन ।  युवा पासमानले भन्नुभयो, ‘डायलायसिस सेवा शुरुसँगै अस्पतालले राम्रो सन्देश दिएको छ, अस्पतालले अब छिट्टै आइसीयु सेवा सुचारु गरेर स्वास्थ्यक्षेत्रमा यसक्षेत्रका जनताहरुलाई राहत दिनुपर्छ ।’ अहिलेसम्म यस अस्पतालमा १५ शैयाका स्थायी दरबन्दी मात्रै रहेको छ भने ५० शैयाको अस्थायी दरबन्दी रहेको छ जसको म्याद हरेक तिन तिन महिनामा थप्नुपरिरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च...

ऊर्जा मन्त्री श्रेष्ठद्वारा सुशासन एकाइ गठन : सहसचिवको नेतृत्वमा अनुगमन हुने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी...

अमेरिकाद्वारा नेपाल भ्रमणसम्बन्धी ‘ट्राभल एडभाइजरी’ परिमार्जन

 काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी)...

सिंहदरबारमा सर्वदलीय बैठक शुरु

काठमाडौं । सङ्घीय संसद सचिवालयको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र...