जेनजी आन्दोलनमा जलाइएको दमकल सञ्चालनमा आउन सकेन

Published on

काठमाडौं ।गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीबाट तोडफोड र आगजनी हुँदा क्षतिग्रस्त बनेको हरिवन नगरपालिकाको दमकल सञ्चालनमा आउन सकेको छैन् । हावाहुरी र आगलागीको मौसम सुरु भएसँगै दमकलको अभाव खड्किन थालिसकेको छ । हरिवन नगरपालिकाको यो दमकलले सर्लाही जिल्लाभर तथा छिमेकी जिल्लामा समेत सेवा दिँदै आएको थियो । जेनजी आन्दोलनमा क्षतिग्रस्त पारिएको दमकल अहिले नगरपालिका कार्यालय परिसरमा थन्काएर राखिएको छ । प्रदर्शनकारीले दमकलसहित फोहोर उठाउने गाडी र अन्य सवारी साधन तथा नगरपालिका कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । नगरपालिका कार्यालय मर्मत र रङरोगन गरी सञ्चालनमा ल्याइए पनि दमकलसहित अन्य सवारी साधन त्यत्तिकै थन्किएका छन्। हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले तोडफोड र आगजनीपछि थन्किएको दमकल अब मर्मतको तयारी गरिएको बताउनुभयो । जेनजीको नाममा अराजक र राजनीतिक पूर्वाग्रह प्रेरित मानिसले दमकलजस्तो अति आवश्यक सवारीमा आगजनी गरेकोप्रति स्थानीयले आपत्ति जनाउँदै आएका छन् । 

आगजनीपछि थन्किएको दमकल नगरपालिकाले आफ्नै खर्चमा मर्मत गर्ने तयारी गरेको नगर प्रमुख बुढाथोकीले बताउनुभयो । दमकलमा आगजनी गर्नेको तस्बिर र भिडियो सार्वजनिक भए पनि अहिलेसम्म कारबाही भएको छैन् । “जजसले तोडफोड र आगजनी गरेको भए पनि अब मर्मत त नगरपालिकाले नै गर्नुपर्ने भयो,” नगर प्रमुख बुढाथोकीले भन्नुभयो, “दमकल मर्मत गर्ने भन्ने निर्णय भइसकेको छ, कहाँ पठाउने भन्ने निधो गर्न बाँकी छ ।” जेनजी आन्दोलनको क्रममा हरिवन नगरपालिकाको दमकल र अन्य सवारी साधनसहित लालबन्दी, बरहथवालगायत पालिकामा पनि सरकारी गाडीमा आगजनी गरिएको थियो ।त्यसमध्ये अत्यावश्यक सवारी अन्तर्गत पर्ने दमकल सबै निकायले समन्वय गरेर तुरुन्त मर्मत गर्न जरुरी रहेको स्थानीयले बताएका छन् । सर्लाहीमा यसै वर्ष बरहथवा निवासी समाजसेवी सरोज यादवले बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकालाई एक, एक थान दमकल उपलब्ध गराएकाले राहत मिलेको छ । त्यस्तै मधेश प्रदेश सरकारले प्रत्येक जिल्लालाई उपलब्ध गराएको दमकलमध्ये सर्लाहीका लागि प्राप्त दमकल नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेकको संरक्षणमा राखिएको छ ।सदरमुकाम मलङ्गवा नगरपालिकासँग यसअघि देखि नै एक थान दमकल रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...