काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान ११ः४७ बजे रहेको छ।
घटस्थापनाका दिन नवदुर्गाको पहिलो स्वरूप देवी शैलपुत्रीको पूजा गरिन्छ। तामा वा माटोको कलशमा गोबर टाँसेर जौ, मकै र गहुँ छरी जमरा राख्ने परम्परा छ। दसैँको दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनीको पूजा गरिन्छ। यी देवीहरूको उपासना गर्दा ज्ञान, साहस, शान्ति र शक्ति प्राप्त हुने धार्मिक विश्वास छ।
सातौँ दिन फूलपाती भित्र्याइन्छ। गोरखा दरबारबाट ल्याइएको पवित्र फूलपाती काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा शास्त्रीय विधिअनुसार भित्र्याउने परम्परा छ। यसै दिनदेखि सरकारी कार्यालयमा दसैँको सार्वजनिक बिदा सुरु हुन्छ। आठौँ दिन महाअष्टमीमा देवी महागौरीको विशेष पूजा, बलि तथा सवारीसाधन र हातहतियारको पूजा गरिन्छ। बलि नदिनेहरूले कुभिन्डो र घिरौँलालगायतका वस्तु चढाउने चलन छ।
नवौँ दिन महानवमीमा देवी सिद्धिदात्रीको पूजा गरिन्छ। यस दिन उद्योग, कलकारखाना, मेसिन तथा औजारहरूको पूजा गर्ने परम्परा छ। काठमाडौँको प्रसिद्ध तलेजु भवानीको मन्दिर पनि यसै दिन सर्वसाधारणका लागि खुला गरिन्छ।
दसैँको मुख्य दिन विजयादशमीमा देवी दुर्गाले महिषासुर र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुसीयालीमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बडादसैँ परिवार तथा आफन्तबीच भेटघाट, शुभकामना आदानप्रदान र आपसी सद्भाव साटासाट गर्ने पर्वका रूपमा पनि मनाइन्छ।

