काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ ।
सोमबार अल अमेरतस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रन बनाए । उनले ८१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६९ रनको योगदान दिए । उनले ६२ बलमा तीन चौका र चार छक्का प्रहार गरे । देव खनालले ५७ रन बनाउँदा इशान पाण्डेले २९ रन जोडे । अन्तिमतिर बासिर अहमदले सात बलमा १७ रन बनाएर नेपालको योगफल उकास्न मद्दत गरे ।
नेपालका लागि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपाली एकदिवसीय क्रिकेटमा चौथो विकेटका लागि अहिलेसम्मकै उच्च साझेदारी बनेको छ । ओमानका शाह फैसलले पाँच विकेट लिए भने जय ओडेड्राले तीन विकेट झारे ।
ओमानले लक्ष्य नजिक पुग्ने प्रयास गरे पनि नेपालका बलरले अन्तिमसम्म दबाब कायम राखे । नेपालले १० रनको रोमाञ्चक जित निकाल्दै शृङ्खलाको अन्तिम खेलमा सुखद नतिजा हासिल गरेको छ ।
नेपालका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिए । ललितले आठ ओभरमा ५३ रन खर्चेर दुई विकेट लिए भने दीपेन्द्रले १० ओभरमा ६० रन दिएर दुई विकेट हात पारे । त्यस्तै, नन्दन यादव र सन्दीप लामिछानेले एक–एक विकेट लिए । नन्दनले १० ओभरमा ५५ रन खर्चिए भने कप्तान सन्दीपले १० ओभरमा ३७ रन मात्रै दिएर किफायती बलिङ गरे । करण केसीले आठ ओभरमा ४१ रन खर्चिए पनि विकेट लिन सकेनन् । गुल्सन झाले चार ओभरमा २० रन खर्चिए ।

