आज महानवमी पर्व, नवदुर्गाको पूजा आराधना गरिँदै

Published on

काठमाडौं – बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यस अवसरमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देवीका मन्दिर, शक्तिपीठ तथा घरघरमा धार्मिक अनुष्ठान गरिँदैछ । हरेक वर्ष असोज शुक्ल नवमीका दिन दसैँघर, कोतलगायत विभिन्न देवीमन्दिर तथा शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन दुर्गा सप्तशती (चण्डी), देवीभागवत तथा देवीस्तोत्र पाठ गरी महानवमी मनाउने गरिन्छ ।

महानवमीका अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी र इन्द्रायणी मन्दिरमा विशेष पूजा तथा दर्शनका लागि भक्तजन पुग्ने गर्छन् । त्यसैगरी उपत्यकाबाहिर नवलपुरको मौलाकालिका, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी र डोटीको शैलेश्वरीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ ।

नवरात्रका अवसरमा देवीको आराधना र पूजा गरेमा शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासका कारण महानवमीका दिन शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्न भक्तजनको भीड लाग्ने गरेको हो । हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गरिन्छ । नौ दिनसम्म घरघर तथा विभिन्न देवस्थलमा पूजा आराधना गरी चढाइएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ ।

भोलि बुधबार दसैँको मुख्य दिन विजयादशमी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । त्यसअघि बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरिनेछ । यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले महाअष्टमीको पूजा पनि दुई दिन गरिएको थियो । असोज शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा अघिल्लो राति गरिएको थियो भने राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा गएराति सम्पन्न भएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिन महानवमीको पूजा आराधनालगायत धार्मिक अनुष्ठान गर्ने परम्पराअनुसार राज्यस्तरको कालरात्रि पूजा गएराति गरिएको हो ।

spot_img

ताजा समाचार

एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रयोग हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस)...

ओमानलाई १० रनले हराउँदै नेपाल विजयी

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...

शीर्ष ६ मा उक्लिन नेपालले आज ओमानलाई हराउनैपर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...

आईसीसीको मान्यतापछि एनपीएलमा कडा नियम, विदेशी खेलाडीलाई एनओसी अनिवार्य

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीको...