काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताउनुभएको छ। उहाँले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राज्यका निकाय स्वेच्छाचारी ढङ्गले सञ्चालन हुन नहुने धारणा राख्नुभएको हो।
नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई पार्टी कार्यालय सानेपामा सम्बोधन गर्दै सभापति थापाले सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो। उहाँले उक्त घटनालाई सामान्य रूपमा लिन नसकिने उल्लेख गर्दै पत्रकार पक्राउको आदेश कसले दिएको थियो, कुन कानुनका आधारमा पक्राउ गरिएको थियो र त्यसका लागि को जिम्मेवार छ भन्ने विषय स्पष्ट हुनुपर्ने बताउनुभयो।
घटनाबारे वक्तव्य जारी गर्नु मात्रै पर्याप्त नहुने भन्दै थापाले दोषीको पहिचान र जवाफदेहिता सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार पक्राउको आदेश दिने निकाय र व्यक्तिको भूमिका स्पष्ट पार्दै कानुनी आधार सार्वजनिक गर्नुपर्छ। घटनाको छानबिन निष्पक्ष र पारदर्शी हुनुपर्ने उहाँको भनाइ थियो। थापाले सरकारमा रहेका व्यक्तिको इच्छा नै कानुन हुन नसक्ने उल्लेख गर्दै राज्यका सबै निकाय संविधान र प्रचलित कानुनअनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो। सरकारी कर्मचारीलाई कार्यस्थलबाट पक्राउ गरी प्रधानमन्त्री कार्यालय पुर्याइएको घटनामा पनि कानुनी प्रक्रिया पालना हुनुपर्ने उहाँले बताउनुभयो। राज्यका निकायले अधिकार प्रयोग गर्दा संविधान र कानुनको सीमाभित्र रहेर काम गर्नुपर्ने उहाँको धारणा थियो।
सरकारका राम्रा कामको श्रेय लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने छुट सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई नरहेको थापाले बताउनुभयो। सरकारका गतिविधिमाथि निगरानी राख्नु र गलत कामको विरोध गर्नु प्रतिपक्षको जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले कांग्रेसले संसद् र सार्वजनिक तहबाट सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो। सभापति थापाले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको संरक्षणका लागि नेपाली कांग्रेसले निरन्तर निगरानी र खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

