ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

Published on

काठमाण्डौँ । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।

पाँच रोपनीमध्ये तीन रोपनीमा उहाँले ड्रागन फ्रुट मात्रै लगाउनुभएको छ भने बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरिरहनुभएको छ । तिहार सुरु हुने समयमा झपक्कै फुलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाइदिएको छ । लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गर्नुभएको थियो । सुरुमा तीन सय बोट ड्रागन फ्रुट रोप्नु भएका उहाँले त्यससँगै सयपत्री फूल पनि रोप्नुभएको थियो । एउटै जग्गाबाट अहिले उहाँले दोहोरो लाभ लिनुभएको छ । उहाँले सयपत्रीबाहेक विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको सुनाउनुभयो ।

उहाले भन्नुभयो, “लामो समयदेखि काठमाडौँमा फूलको नर्सरी सञ्चालन गरेको थिए, त्यही अनुभवका आधारमा यहाँ पनि फूल र विभिन्न बिरुवाको नर्सरी सुरु गरेको हुँ ।” आफ्नै गाउँमा केही गरौँ र स्थानीय किसानलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आफूले यहाँ खेती सुरु गरेको उहाँको भनाइ छ । शाहीलाई नगरपालिकाबाट पनि सहयोग प्राप्त भइसकेको छ । फूल खेतीका लागि नगरपालिकाले रु. एक लाख अनुदान उपलब्ध गराएको नगर कार्यपालिकाका सदस्य एवम् वडा नं ५ का अध्यक्ष रबिन कार्कीले जानकारी दिनुभयो । साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा मन्थलीमा सञ्चालित जुनार जोन कार्यक्रममार्फत कागतीका बिरुवा उत्पादनका लागि रु. पाँच लाख अनुदान लिनुभएको परियोजनाका कार्यालय प्रमुख थिरलाल गैरेले बताउनुभयो ।

आफ्नो कम्पनी भदौरे कालिका कृषि तथा पशु पंक्षी फार्मले परियोजनामार्फत अनुदान प्राप्त गरेको र यसले काम गर्न हौसला मिलेको शाहीको भनाइ छ । उहाँले भन्नुभयो, “मेहनत गर्ने हो भने स्वदेशमै केही गर्न सकिन्छ, सरकारले पनि सहयोग गर्छ, यसबाट कृषि क्षेत्रमै धेरै काम गर्न सकिन्छ भन्ने विश्वास जागेको छ ।” उहाँले उत्पादन गर्नुभएको सयपत्री फूल सदरमुकाम मन्थलीदेखि दोलाखा, सिन्धुलीदेखि काठमाडौँसम्म जाने गरेको छ । उहाँले ड्रागन फ्रुट प्रतिकिलो रु. तीन सय ५० र सयपत्री फूल प्रतिकेजी रु. दुई सय ५० मा बिक्री सुरु गर्नुभएको छ । यस वर्षको तिहारमा उहाँले सयपत्री बिक्रीबाट रु. तीनदेखि पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाउनुभएको छ । रासस

ताजा समाचार

टिनका टहराबाट मुक्त भए वेदकोटका पौरखी मुक्त कमैया

काठमाण्डौँ । वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै...

गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन

काठमाण्डौँ । संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन...

अफगानिस्तानमा विस्फोट स् तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...

घटालथानको निर्माण अलपत्र

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक...