काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा सोमबार पार्टी निकट निर्माण व्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिइ २५ लाख भन्दा बढीलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन जरुरी रहेको बताउनुभयो । निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको र निर्माण व्यवसायी ऐन, कानून तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले निर्माण व्यवसायीहरुले झेलिरहेका भुक्तानि, निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभाव लगायतका विषयमा आफ्नो ध्यानाकर्षण भएको र समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । व्यवसायिक प्रवद्र्धनका लागि निर्माण व्यवसायीहरु प्रविधिमैत्री हुनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । योजनाहरु तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु आजको मुख्य समस्या रहेको जिकिर गर्नुभयो । सभापति देउवाले भन्नुभयो, ‘‘विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा, विश्व अर्थतन्त्रमा नै समस्या आइरहेको अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिइ २५ लाख रुपियाँ भन्दा बढीलाई प्रत्यक्षरअप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक छ ।’’
उहाँले निर्माण व्यवसायी ऐन, कानून तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘यसबाहेक यहाँहरुले झेलिरहनुभएका भुक्तानि, निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभाव लगायतका विषयमा पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस समस्याको समाधानका लागि आफ्नो र पार्टीको तर्फबाट हामी लागिरहनेछौँ ।’’ यस्तै उहाँले भन्नुभयो, ‘‘व्यवसायिक प्रवद्र्धनका लागि निर्माण व्यवसायीहरु प्रविधिमैत्री हुनु, आजको आवश्यकता पनि हो । योजनाहरु तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु नै आजको मुख्य समस्या हो । यसका लागि निर्माण व्यवसायीहरुको प्रयास मात्र पर्याप्त हुँदैन । सरकारले पनि प्राथमिकता दिनुपर्छ भन्ने मेरो भनाइ छ । नेपाल निर्माण व्यवसायीहरुले नेपालमा मात्र नभएर विदेशमा उत्कृष्ट काम गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन हामीले सुरुङ मार्ग, रेल सेवा, जलविद्युत क्षेत्र लगायतका निर्माणमा पनि विशेष प्राथमिकता दिनुपर्ने टड्कारो आवश्यकता भएको छ ।’’
सभापति देउवाले निर्माण व्यवसायीहरु विकासको संवाहक भएको बताउनुभयो । अर्थतन्त्र गतिशिल बनाउन आ–आफ्नो तर्फबाट भुमिका खेल्नुपर्ने बताउनुभयो । यस्तै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय सकसमा परेको बताउनुभएको छ । उहाँले समस्या समाधानका लागि नियमावली संशोधनका लागि सरकारलाई सुझाव दिएको तर त्यसको कुनै सुनुवाई नभएको पनि बताउनुभयो । अध्यक्ष सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने निर्माण व्यवसायी देशको समृद्धिको संवाहक भएको बताउनुभयो । उहाँले केही उद्योगहरुले गरेको कार्टेलिङलाई सरकारले प्रोत्साहन गरेको आरोपसमेत लगाउनुभयो ।