द्रुतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका  विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र  सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिनुभएको छ । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्ग निरीक्षणका क्रममा आज सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उहाँले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ ।” प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक विपद्को बेला खुला ठाउँको आवश्यक पर्छ, मानिसको ओहारदोहर, मेला, पर्व र भेला तथा जमघटका लागि पनि खुला ठाउँ आवश्यक पर्छ । त्यसकारण खाली ठाउँ देख्नेबित्तिकै संरचना बनाउनुपर्छ भन्ने धारणा त्याग्नुपर्छ । योजना बनाउँदा नै पर्याप्त खाली र खुला ठाउँ छाडेर योजना बनाउने र संरचना निर्माण गर्नुपर्छ ।” यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्री, विभिन्न मन्त्रालयका सचिवलगायत हुनुहुन्छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन यस मार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम सुरु गर्न केही ढिलाइ भएको थियो । कुल ७० दशमलव ९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल करिब ४५ प्रतिशतको हाराहारीमा पुगेको छ । द्रुतमार्गअन्तर्गत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्नेछ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल छन् । त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति विसं २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत रु. दुई खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ ।

यो काठमाडौँ उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुनेछ । निर्माणपछि तराईबाट काठमाडौँमा ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गतका सात वटा सुरुङ छन । सेनाले आयोजनाको लक्ष्यअनुसार कार्य सम्पन्न गर्न विशेष प्रयास गरिरहेको सेनाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

केन्जोको प्रतिमा निर्माण

काठमाडौं । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पदमचाल (केन्जो) फुलको प्रतिमा निर्माण गरेको छ । हिमाली...

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

काठमाडौं । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन...

फागुन ३ देखि म्याग्दीमा मतदाता शिक्षा अभियान

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता...

टी–२० विश्वकप : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै इङ्ल्यान्ड

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले अहिले दुई पटकको...