जलाशयको पानीले कृषिजन्य उत्पादन वृद्धि

Published on

काठमाडों । घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण गरेको छ । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ ।

‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म २८ वटा जलाशय निर्माण भइसकेका छन् । प्रदेश सरकारको ४५ लाख, स्थानीय सरकारको ५० लाख र उपभोक्ताको पाँच लाख लागतमा उक्त जलाशय निर्माण गरिएको हो । घोराही उपमहानगरपालिका(१७ कर्जाहीमा रहेको कृत्रिम जलाशयका कारण सो क्षेत्रमा पानीको समस्या हटेको किसान पूर्णबहादुर चौधरीले बताउनुभयो । जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारीखेतीमार्फत आम्दानी पनि भइरहेको उहाँले बताउनुभयो । कृत्रिम जलाशय निर्माण गरेपछि पानीको सहज आपूर्ति भएको किसानको भनाइ छ । “वडा नम्बर १७ र आसपासको वडामा सिँचाइका लागि पानी पुगेको छ । कर्जाही आसपासमा एक सय बिघाभन्दा धेरै जमिनमा यस जलाशयको पानीमार्फत सिँचाइ भई व्यावसायिक तरकारीखेती भइरहेको छ”, चौधरीले बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमाक्षेत्रमा पर्ने सुर्केडाँगीमा (चेपे ताल)मा तीन वर्षअघि करिब साढे सात बिघा क्षेत्रफलमा निर्माण गरिएको कृत्रिम जलाशयपछि खेतीपातीमा सहज भएको किसान मीना चौधरीले सुनाउनुभयो । “जलाशय निर्माणपछि सिँचाइको समस्या छैन । यसले व्यावसायिक तरकारीखेतीमा सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “ मैलेमात्रै काउली, बन्दा, गोलभेँडा गरी मासिक २० देखि २५ हजार आम्दानी गरिरहेकी छु । लौका, करेला, भिन्डी र काँक्राको खेती पनि राम्रो भइरहेको छ ।” जलाशय संरक्षण समितिका अध्यक्ष एवम् वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेले जलाशयमा माछापालनसँगै डुङ्गासमेत सञ्चालन गरिएको बताउनुभयो । अध्यक्ष पाण्डेका अनुसार कृत्रिम जलाशय प्रदेश सरकार र घोराही उपमहानगरको करिब एक करोड ८० लाखको लगानीमा निर्माण भएको हो । “जलाशय ठूलो छ, सोही कारण सिँचाइसँगै माछापालन, डुङ्गा सञ्चालन गरेर स्थानीय युवालाई रोजगारीसमेत दिएका छौँ”, पाण्डेले भन्नुभयो ।

सघन सिँचाइ आयोजनाले तीन, बृहत् सिँचाइ आयोजनाले एक, प्रदेश सरकारले तीन र उपमहानगरले २१ गरी पाँच वर्षमा २८ कृत्रिम जलाशय निर्माण भएका छन् । गर्मीमा पानीको समस्या धेरै नै थियो । तीव्र सहरीकरणले नगरभित्रका सहरोन्मुख गाउँका कुँवा, इनार, ट्युबवेल, जरुवाजस्ता पानीका स्रोत सुक्दै गएका छन् । त्यसैले पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको हो । नगरलाई सुक्खा हुनबाट बचाउन सुरु भएको जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो । उहाँले नगरमा पानीका स्रोत बचाउन पानी सङ्कलन केन्द्रमार्फत ‘रिचार्ज’ गरिएको उल्लेख गर्नुभयो । “नगरमा जनघनत्व बढ्दै जाँदा सहरी क्षेत्र बढ्यो । जसले गर्दा पानीका मुहानहरु सुक्दै गए ।

पानीको अभावलाई कम गर्न र जनतालाई प्रत्यक्ष आम्दानीमा जोड्नका लागि कृत्रिम जलाशय निर्माण गरेका हौँ”, उहाँले भन्नुभयोे, “नयाँ निर्माण गरेका पोखरीमा वर्षामा पानी जम्मा गरिन्छ । जलाशय निर्माणले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षासहित हामीले काम गरेका हौँ”, उहाँले भन्नुभयो । जलाशय निर्माण भएका स्थानमा बाह्रै महिना खेती हुने गरेको सोही ठाउँका किसान बताउँछन् । घोराही क्षेत्रका जलाशय पाँच कट्ठादेखि पाँच बिघासम्म फैलिएका छन् । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...