सेजबाट तीन अर्बको निर्यात

Published on

काठमाडौँ । विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योगबाट तीन अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार भैरहवा सेजबाट साढे पाँच वर्षको अवधिमा तीन अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको हो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि आव २०८१/८२ को फागुनसम्म तीन अर्ब चार करोड रुपियाँ बराबरको सामान विदेश निर्यात भएको हो । सो अवधिमा एक अर्ब ६६ करोड रुपियाँ बराबरको सामान आन्तरिक बजारमा खपत भएको छ । यस्तै सिमरा सेजमा चार वटा उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगबाट उत्पादित सामान भारत निर्यात हुन थालेको प्राधिरणले जनाएको छ । सरकारले निर्यातमूलक उद्योग स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्ने उद्देश्य सहित सेज स्थापना गरेको थियो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार भैरहवा सेजमा २७ वटा उद्योगले सञ्चालनका लागि अनुमति पाएका छन् । जसमा १० वटा उद्योग स्थापना भई सञ्चालनमा छन् । ती उद्योगबाट उत्पादित सामान निर्यात हुन थालेका हुन् । उद्योगमा डोलोमाइट उत्पादन, स्टिलका भाडा, स्टिल ट्याङ्की उत्पादन गर्ने, प्लास्टिकका सामग्री, ग्रेनाइट, फर्नेस आयललगायतका सामान उत्पादन गरी निर्यात हुन थालेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक छत्रबहादुर कटुवालले सेजमा स्थापना भएका उद्योगबाट उत्पादित सामान निर्यात हुन थालेको बताउनुभयो । सेजमा उद्योगबाट उत्पादन भएको सामानको ३० प्रतिशत अनिवार्य रूपमा निर्यात गर्नुपर्ने व्यवस्था रहेकाले पनि सोही अनुसार सामान निर्यात हुन थालेको उहाँले बताउनुभयो । सञ्चालनमा आएका सेजभित्र आवश्यक पर्ने सबै पूर्वाधार सञ्चालनमा रहेको तिरुपती मेटल प्रालिका सञ्चालक पशुपति अग्रवालले लिड उत्पादन गरी भारत निर्यात गर्ने गरेको बताउनुुभयो ।

सिमरा सेजमा १० वटा उद्योग निर्माणाधीन अवस्थामा छन् । भैरहवा सेजमा ३५० जना र सिमरामा ७५२ जनाले रोजगारी पाएको प्राधिकरणले जनाएको छ । सेज कार्यविधि अनुसार पहिलो तीन वर्षसम्म निर्यात नगरे पनि हुन्छ । त्यसपछिको वर्ष १५ प्रतिशत र छैटौँ वर्षसम्म पुग्दा कम्तीमा ३० प्रतिशतसम्म निर्यात गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि ६० प्रतिशत निर्यात भएकै हुनुपर्ने व्यवस्था थियो । सेजमा स्थापना भएका अधिकांश उद्योगीले छिमेकी मुलुक भारतमा सामान निर्यात गर्ने गरेका छन् । सरकारको सातै प्रदेशमा एकरएक वटा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने योजना रहे पनि हालसम्म दुई वटा सेज स्थापना भई पूर्ण रूपमा सञ्चालनमा आएका पनि अन्य ठाउँमा भने स्थापना हुन सकेको छैन । काभ्रेको पाँचखाल सेज निर्माणाधीन अवस्थामा रहेको छ । सरकारले निर्यातमूलक उद्योग स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्ने उद्देश्यका साथ सात वटै प्रदेशमा सेज स्थापना गर्ने घोषणा गरे पनि हालसम्म सबै ठाउँले पूर्णता पाएका छैनन् ।

चालु आवको बजेटमार्फत सेजका लागि १७ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सेजका लागि धेरै बजेट आवश्यक पर्ने भए पनि न्यून बजेट रहेको कटुवालको भनाइ छ । सरकारको प्राथमिकतामा नपर्दा र सेज स्थापनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण अगाडि बढ्न सकेको छैन । भैरहवा र सिमरा सेज स्थापना भई उद्योग सञ्चालन भए पनि अन्य चार ठाउँमा विराटनगर, गोरखा, कैलाली र नुवाकोटमा निर्माण सुरुसमेत नभएको महालेखा कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यसैबिच काभ्रेको पाँचखालमा रहेको सेज र सिमराको सेजभित्र रहेको ‘बी’ र ‘सी’ ब्लकलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालनका लागि मन्त्रीपरिषद्ले निर्णय गरेको प्राधिकरणले जनाएको छ । सेजलाई ३० वर्ष जग्गा लिजमा लिएर पिपिपी मोडलमा विकास र सञ्चालन गरी हस्तान्तरण गरिने छ ।

ताजा समाचार

तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष प्रचण्डको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तीनकुने क्षेत्रमा...

वीरगन्जमा महिलाको शव फेला

काठमाडौँ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक...

पत्रकार हत्या र मिडियामाथि आक्रमण गर्नेलाई कारबाहीको माग

काठमाडौँ । पत्रकार सुरेश रजकको हत्या र मिडिया गृहमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न...

कालिगण्डकी कोरिडोर सडक आयोजनामा बजेट अभाव

काठमाडौँ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोरको निर्माणधिन माथिल्लो खण्ड मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजनामा...