काठमाडौँ । नेकपा (एमाले) ले गणतन्त्रको पक्षमा काठमाडौंको तीनकुने क्षेत्रमा जागरण सभा आयोजना गरेको छ । एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा. भीष्म अधिकारीका अनुसार तीनकुने क्षेत्रको भेलालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुनेछ । उहाँका अनुसार भेलामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय विभाग, काठमाडौं उपत्यका प्रदेश समिति, युवा, महिला लगायतका २२ वटा जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनुभएको छ ।
तीनकुने क्षेत्रमा आयोजित भेलामा एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहित नेताहरु राजन भट्टराई, काशीनाथ अधिकारी, डा. भीष्म अधिकारी लगायतका नेताहरु सहभागी हुनुभएको छ । उहाँले तीनकुने क्षेत्रबाट सुरु भएको मोटरसाइकल र्याली भक्तपुरमा समापन हुने जानकारी दिनुभयो । त्यसो त एमालेले देशभरका जिल्ला सदरमुकाम र प्रमुख शहरहरुमा सोमबार गणतन्त्रका पक्षमा जागरण सभा तथा मोटरसाइकल र्यालीको आयोजना गरेको छ । उहाँले आज दिउँसो ४ बजेदेखि सुरु भएको जागरणसभामा १५ हजार बढीको सहभागिता रहेको बताउनुभयो ।